इटहरी । धान रोपाइँको मुख्य सिजनमै रासायनिक मलको चरम अभाव भएपनि झापाका किसान धान रोप्न व्यस्त छन् । नेपालकै प्रमुख धान उत्पादन जिल्लामध्ये एक झापामा आवश्यक मलको एक चौथाइभन्दा कम मात्र आपूर्ति हुँदा उत्पादनमा प्रत्यक्ष असर पर्ने चिन्ता भने बढेको छ ।
कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टका अनुसार जिल्लामा धानबालीका लागि १३ देखि १४ हजार मेट्रिक टन युरिया आवश्यक पर्ने भएपनि हालसम्म २ हजार ४ सय मेट्रिक टन मात्र उपलब्ध भएको छ । यस्तै ८ हजार मेट्रिक टन डीएपी आवश्यक पर्दा करिब २ हजार ५ सय मेट्रिक टन मात्र आपूर्ति भएको छ । आवश्यकताअनुसार मल उपलब्ध हुन नसक्दा किसानले समयमा मल हाल्न नपाएको र यसले धान उत्पादन घटाउने जोखिम बढन सक्ने उहाँले बताउनुभयो । अर्ग्यानिक मल प्रयोग गरेर भएपनि रोपाइ भइरहेको छ । पछिल्लो समयमा अग्र्यानिक मलप्रति आकर्षण बढेपनि ढिला गरी यसको प्रभावदेखिने भएकाले किसानहरु रसायनिक मलप्रति नै धेरै भर पर्ने गरेको पाइन्छ ।
असार महिनामा ६१।८ प्रतिशत क्षेत्रमा रोपाइँ सम्पन्न भइसकेको छ । समयमा मल नपाउदा उत्पादन घट्ने किसानहरुलाई चिन्ता रहेको छ । लगनशील कृषि सहकारी संस्थाका पूर्व अध्यक्ष डम्बर निरौलाका अनुसार मल नपाउदा किसानहरु चिन्तित रहेकाछन् । मल बेगर भएपनि किसानहरु रोपाइँ गरिरहेका छन् ।
एकातिर पर्याप्त मल नपाउने र अर्कातिर कृषि योग्य जमिन साघुरिँदै जाँदा उत्पादनमा कमी आउन सक्ने बताइन्छ । कृषि ज्ञान केन्द्रका अनुसार १० वर्षअघि ८७ हजार ५ सय हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेकोमा अहिले यो घटेर ७५ हजार ४ सय ५९ हेक्टर मा सीमित भएको छ । अव्यवस्थित कित्ताकाट, तीव्र सहरीकरण, आवास विस्तार तथा औद्योगिक प्रयोजनका लागि कृषि जमिन प्रयोग हुँदै आएको छ ।


