इटहरी । कोशी प्रदेशमा आगामी तीन दिनदेखि भारीदेखि अति भारी वर्षा हुने सम्भावना रहेको भन्दै सरकारले सतर्कता अपनाउन आग्रह गरेसँगै विराटनगरका हरेक वर्ष डुबानमा पर्ने बस्तीका बासिन्दामा त्रास बढेको छ ।
विशेष गरी केसलिया र सिङ्घियाखोलाको किनार तथा विराटनगर–५, ६, ११, १२, १६, १७ र १८ नम्बर वडाका डुबान प्रभावित क्षेत्रका स्थानीयले फेरि बर्खाको सास्ती दोहोरिने चिन्ता व्यक्त गरेका छन् । विराटनगर–१२ का स्थानीय राजेश सहनीका अनुसार दक्षिण–पश्चिम क्षेत्रका बस्ती हरेक वर्ष डुबानमा परे पनि दीर्घकालीन रूपमा पानी निकास गर्ने प्रभावकारी व्यवस्था भएको छैन । उहाँले डुबानपछि पानी बाहिर निकाल्ने उपाय नहुँदा स्थानीयले कति समय सास्ती भोग्नुपर्ने भन्ने चिन्ता व्यक्त गर्नुभयो
सिङ्घिया र केसलियाखोलामा पानीको बहाब बढेपछि खोला किनारका सुकुमवासी बस्ती सबैभन्दा बढी प्रभावित हुने गरेका छन् । ती बस्ती स्थानान्तरण वा दीर्घकालीन व्यवस्थापनतर्फ पर्याप्त पहल नहुँदा प्रत्येक वर्ष बर्खयाममा मानवीय सङ्कट दोहोरिने गरेको स्थानीयको गुनासो छ ।
विराटनगर बजारको महेन्द्र चोक र ट्राफिक चोकआसपास पनि वर्षा हुँदा केही समय डुबान हुने गरेको व्यवसायी माधव अधिकारीले बताउनुभयो । उहाँका अनुसार वर्षा रोकिएको केही घण्टापछि पानी घट्ने गरे पनि व्यवसाय सञ्चालनमा नियमित असर पर्ने गरेको छ । विराटनगर महानगरपालिका सरसफाइ महाशाखाका प्रमुख पुनम दाहालले महानगरले सम्भावित डुबानलाई लक्षित गर्दै पूर्वतयारी गरिरहेको बताउनुभयो । उहाँका अनुसार विराटनगरका करिब ७० प्रतिशत नाला सामान्य वर्षाको पानी निकासका लागि मात्र निर्माण भएका छन् भने बाँकी ३० प्रतिशत नालाले करिब दुई घण्टासम्मको भारी वर्षालाई व्यवस्थापन गर्न सक्छन् तर दुई घण्टाभन्दा बढी लगातार ठुलो वर्षा भए डुबान रोक्न कठिन हुने उहाँको भनाइ छ ।
उहाँले विराटनगरमा स्थानीय वर्षाभन्दा पनि इटहरी, धरान तथा माथिल्लो क्षेत्रबाट सिङ्घिया र केसलियाखोलामा आउने पानीका कारण बढी डुबान हुने गरेको बताउनुभयो । महानगरले अधिकांश नालाको अवरोध हटाइसकेको भए पनि केही स्थानमा नालामै रहेका विद्युत्का खम्बा, साँघुरा नाला तथा फोहोरका कारण पानीको निकास प्रभावित हुने गरेको उहाँले स्वीकार गर्नुभयो । पुष्पलाल चोकक्षेत्रमा यस्ता अवरोधका कारण पानी जम्ने समस्या अझै रहेको उहाँको भनाइ छ ।
नाला नपुगेका बस्तीमा जेसिबी प्रयोग गरेर अस्थायी निकास खोल्ने, स्थानीय खोल्सालाई सिङ्घिया वा केसलियासम्म जोड्ने तथा विपत्का बेला आवश्यक उपकरण र जनशक्ति परिचालन गर्ने तयारी गरिएको महानगरले जनाएको छ । महानगर र वडा तहमा विपत् व्यवस्थापनका लागि बजेट छुट्याइएको तथा आवश्यकता अनुसार उद्धारकर्मी परिचालन गर्नेसम्मको तयारीमा रहेको दाहालले जानकारी दिनुभयो । खोलाको बहाब अस्वाभाविक रूपमा बढे नेपाली सेनालगायतका निकायसँग समन्वय गरेर उद्धार तथा नियन्त्रणका काम अघि बढाइने उहाँको भनाइ छ ।


