इटहरी। स्थानीय उत्पादन र संस्कृतिको प्रवर्धनका लागि त्रि–धार्मिकस्थल हलेसीमा चाम्लिङ सामुदायिक होमस्टे सञ्चालनमा ल्याइएको छ ।

पर्यटकलाई स्थानीय परिकारको अर्गानिक स्वाद चखाउन र समुदायको संस्कृतिमा रमाउन हलेसी चाम्लिङ सामुदायिक होम स्टे सञ्चालनमा ल्याइएको हो ।  खोटाङको हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानस्थित ऐसेलुखर्क गाउँका चाम्लिङ समुदायले साउन २ गतेबाट सामुदायिक होम स्टे सञ्चालनमा ल्याएका हुन् । होम स्टे सञ्चालनमा आएसँगै हलेसी तुवाचुङ नगरपालिकाको सहयोगमा ब्राण्डिङ गरिएको कोदोको तीन पाने रक्सी पनि औपचारिकरुपमा बिक्री वितरण सुरु गरिएको छ । त्रि–धार्मिक स्थल हलेसीबाट एक किलोमिटर दुरीमा रहेको हलेसी चाम्लिङ सामुदायिक होम स्टे पर्यटकहरुको रोजाइमा पर्ने विश्वास गरिएको सञ्चालक महितराम राईले बताउनुभयो । पर्यटकहरुले होम स्टेमा लोकल कुखुराको मासु, ढिंडो, गुन्द्रुकको अचारलगायतका स्थानीय परिकारको अर्गानिक स्वाद लिन र चाम्लिङ राईहरुको संस्कृति बुझ्न र हेर्न पाउने उहाँको भनाइ छ । 

“कोदोको सुगन्ध, संस्कृतिको सम्बन्ध” नारासहित सुरु भएको सामुदायिक होम स्टेमामा आउने पाहुनाको लागि सस्तो दररेट रहेको छ । बासको लागि एउटा बेडको २ सय र सादा खानको पनि २ सय रुपैयाँ लाग्ने छ । यस्तै, लोक चिकेन एक पिलेट १ सय ५०, ब्रोइलर १ सय, बफ १ सय, पोर्क १ सय, मटन १ सय ५०, भेज ब्रेकफास्ट १ सय ५०, लोकल अण्डा बोयल गरेको ४०, लोक भाले प्रति केजी ९ सय रेट राखिएको छ । यस्तै, स्थानीय पेय पदार्थमा तोङ्बा २ सय, ब्राण्डिङ गरिएको कोदोको तीन पाने रक्सी हजार एमएलको ९ सय १०, ५ सय एमएलको ५ सय र २ सय ५० एमएलको २ सय ५० रुपैयाँ रेट रहेको छ । करिब ३० घरले सञ्चालन गर्ने गरी सुरु गरिएको हलेसी चाम्लिङ सामुदायिक होम स्टे अहिले ८ घरले सुरु गरेका छन् । अन्य घरहरु बिस्तारै थपिँदै जाने बताइएको छ । अहिले एक दिनमा ४० जना बाहुना राख्न सक्ने क्षमता रहेको सञ्चालक रबिन चाम्लिङले बताउनुभयो  हिन्दु बौद्ध र बिराँत धर्मलम्वीहरुको संगमस्थल विश्व प्रशिद्ध त्रि–धार्मिक स्थल हलेसीमा हरेक वर्ष लाखौ पर्यटक आउने गरेका छन् । हलेसी सूचना केन्द्रका प्रमुख रमेश राईका अनुसार एक वर्षमा आन्तरिक र बाह्य पर्यटक गरी करिब २ लाख ३० हजार पर्यटकहरुले हलेसी दर्शन एवं भ्रमण गरेका छन् । २०८२ असार १ गतेदेखि ०८३ जेठ मसान्तसम्मको तथ्याङ्क हेर्ने हो भने नेपालका विभिन्न जिल्लाबाट आएका पर्यटक २ लाख ७ हजार ७०५ र विदेशबाट आएका पर्यटक २२ हजार ६४४ रहेको छ ।

हलेसी आएका पर्यटकलाई होम स्टेमा स्वागत गर्ने गरी सुरु गरिएको नगरपालिकाका मेयर विमला राईको भनाइ छ । होम स्टेको माध्यमबाट आम्दानीसँग जोड्न र स्थानीय उत्पादन र संस्कृतिको प्रवर्धनको लागि हलेसी चाम्लिङ सामुदायिक होम स्टे सुरु गर्न प्रेरित गरिएको मेयर राईले बताउनुभयो । दुई वर्षदेखिको नगरपालिकाको तयारी आजबाट पुरा भएको उहाँको भनाइ छ । होम स्टे सञ्चालनको लागि सुरुको वर्ष सडक स्तरोन्नति गरिएको उहाँको भनाइ छ । हलेसी बजारबाट ऐसेलुखर्क गाउँ अर्थात होम स्टेसम्म पुग्ने र दिक्तेलतर्फबाट जादा ऐसेलुखर्क एलम्बर चोकबाट गाउँसम्म जाने सडक ग्राबेल गरिएको छ । यस्तै, दोस्रो वर्ष घरहरुसम्म जाने सिढी बाटो निर्माण, सञ्चालकहरुलाई कुक र होम स्टे सञ्चालन सम्बन्धि तालिम प्रदान, कोदोको तीन पाने रक्सी ब्रान्डिङ गर्ने काम भएको मेयर राईले बताउनुभयो । 

ब्रान्डिङ गरिएको रक्सीको कार्याविधि निर्माण गरेर हलेसी चाम्लिङ होम स्टेबाट मात्र विक्री वितरण गर्न पाइने बनाइएको छ । कोदोको तीन पानेको बोतलिङ, लेभलिङ गरेर ब्रान्डिङ गरिएको छ । अलकोहल नाप्ने मेसिनसमेत ल्याइएको र उक्त रक्सीमा ४५ देखि ५० सम्म अलओहल रहेको उहाँको भनाइ छ ।