इटहरी । झापाका छुट्टाछुट्टै स्थानमा करेन्ट लागेर दुई युवकको मृत्यु भएको छ।

कचनकवल गाउँपालिका–३ पाँचबिगेका २४ वर्षीय कमल गदाइलीको जंगली हात्ती रोकथामका लागि आफ्नै बारीमा राखिएको विद्युतीय तारमा करेन्ट प्रवाह हुँदा करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। प्रहरीका अनुसार गएराति करिब ९ बजे अचानक करेन्ट लागेर गम्भीर घाइते भएका गदाइलीलाई उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुर लगिएको थियो। अस्पतालमा चिकित्सकले परीक्षण गर्दा उनको मृत्यु भइसकेको घोषणा गरेका थिए। उनको शव हाल प्रादेशिक अस्पतालमै राखिएको छ। घटनाबारे प्रहरी चौकी पथरियाको टोलीले अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

यस्तै, गौरादह नगरपालिका–६ बिरवल चोकका २५ वर्षीय बिनोद शर्माको पनि करेन्ट लागेर मृत्यु भएको छ। प्रहरीका अनुसार बिहीबार साँझ करिब ७ः४५ बजे आफ्नै घरमा रहेको फलामको स्ट्यान्ड भएको पंखा चलाउने क्रममा उनलाई करेन्ट लागेको थियो। गम्भीर घाइते भएका शर्मालाई उपचारका लागि दमकस्थित लाइफलाइन अस्पताल पुर्‍याइए पनि चिकित्सकले राति ८ः४५ बजे मृत घोषणा गरेका थिए।

प्रहरीका अनुसार आवश्यक कानुनी प्रक्रिया पूरा गरी शवको पोस्टमार्टम गरिएको छ। त्यसपछि शव मृतकका भाइ परशुराम शर्मालाई बुझाइएको छ।