इटहरी । सुनसरीको इनरुवा नगरपालिकाले किसानलाई मिनी ट्रिलर वितरण गरेको छ । किसानलाई कृषि यान्त्रिकीकरण कार्यक्रम अन्तर्गत १० वटै वडाका किसान, सहकारी र कृषि फार्म सञ्चालकलाई ५० प्रतिशत अनुदानमा ५० थान मिनी ट्रिलर वितरण गरेको हो । खेतबारी जोत्नका लागि किसानले गोरु, राँगा पाल्न छाड्दै गएकाले खेतबारी बाँझो हुने अवस्था आउन नदिन नगरपालिकाले मिनी ट्रिलर वितरण गरेको हो ।

कृषिलाई प्रविधिसँग जोड्न नगरपालिकाले ५० प्रतिशत अनुदानमा ५० थान मिनी ट्रिलर वितरण गरेको नगरप्रमुख केदार भण्डारीले जानकारी दिनुभयो । कृषि कर्ममा लागेकालाई व्यक्तिगत, समूहमा, फार्म र सहकारीमा आबद्ध भएकालाई वितरण गरेको जानकारी दिनुभयो । व्यक्तिगतमा एकल र समूह तथा सहकारीमा आबद्ध किसान सबैले मिनी ट्रिलर आवश्यकता अनुसार पालैपालो प्रयोग गर्न सक्ने बताइएको छ ।

मिनी ट्रिलरबाट नगरका सयभन्दा बढी किसान लाभान्वित हुने उहाँको भनाइ छ ।  उपप्रमुख विनिताकुमारी मेहताले गोरुले भन्दा मिनी ट्रिलरले जोत्न सहज मात्र नभई छिटो हुने भएकाले यसको माग बढिरहेको बताउनुभयो ।