इटहरी । पाँचथर जिल्ला अदालतमा आर्थिक वर्ष २०८२र०८३ मा सम्बन्ध विच्छेदका मुद्दाको सङ्ख्या अघिल्लो वर्षको तुलनामा उल्लेख्य रूपमा बढेको छ। यद्यपि, यस्ता मुद्दामा फैसलाभन्दा मिलापत्र हुने क्रम बढी देखिएको छ।
जिल्ला अदालतको अभिलेखअनुसार आर्थिक वर्ष २०८१र०८२ मा ३०६ वटा सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएकामा आर्थिक वर्ष २०८२र०८३ मा यो सङ्ख्या बढेर ३९० पुगेको छ। यो अघिल्लो आर्थिक वर्षको तुलनामा ८४ वटा अर्थात् करिब २७।५ प्रतिशतले बढी हो। दर्ता भएका मुद्दामध्ये आर्थिक वर्ष २०८१र०८२ मा ५१ वटामा मात्र मिलापत्र भएकोमा आर्थिक वर्ष २०८२र०८३ मा मिलापत्र हुने मुद्दाको सङ्ख्या बढेर १८५ पुगेको छ। यो अघिल्लो वर्षको तुलनामा १३४ वटा अर्थात् करिब २६३ प्रतिशतले बढी हो।
यता, मुद्दा फैसलाको सङ्ख्या भने सामान्य रूपमा घटेको छ। आर्थिक वर्ष २०८१र०८२ मा ६१ वटा सम्बन्ध विच्छेदका मुद्दाको फैसला भएकामा आर्थिक वर्ष २०८२र०८३ मा ५२ वटा मात्र फैसला भएका छन्। त्यसैगरी, फैसला हुन बाँकी मुद्दाको सङ्ख्या १९४ बाट घटेर १५३ मा झरेको छ। यसले अदालतमा पुराना मुद्दा व्यवस्थापनमा सुधार हुँदै गएको देखाएको छ। जिल्ला अदालतका सूचना अधिकारी सरस्वती नेम्वाङका अनुसार दुवै आर्थिक वर्षमा सम्बन्ध विच्छेदको फिराद दर्ता गर्ने महिलाको सङ्ख्या पुरुषको तुलनामा बढी रहेको छ। फिराद दर्ता गर्ने महिलामध्ये अधिकांश २० देखि ५९ वर्ष उमेर समूहका रहेको अभिलेखमा उल्लेख छ।
उहाँका अनुसार श्रीमान्–श्रीमतीबिचको मनमुटाव, परिवारप्रति आवश्यक हेरचाह र जिम्मेवारी पूरा नगर्नु तथा वैदेशिक रोजगारीका कारण लामो समय छुट्टिएर बस्नुपर्ने अवस्था सम्बन्ध विच्छेदका प्रमुख कारणका रूपमा देखिएका छन्। सम्बन्ध विच्छेदका मुद्दा बढ्दै जानु परिवार संस्थामाथिको चुनौतीका रूपमा देखिए पनि अदालतले मेलमिलापलाई प्राथमिकता दिँदै आएको छ। कानुनी प्रक्रिया सुरु भइसकेपछि पनि धेरै दम्पती आपसी समझदारीमा फर्किएकाले आर्थिक वर्ष २०८२र०८३ मा मिलापत्रको सङ्ख्या फैसलाभन्दा उल्लेख्य रूपमा बढी रहेको अदालतको तथ्याङ्कले देखाएको छ।
सम्बन्ध विच्छेदको फिराद दर्ता गर्ने पक्षले प्रायः मानाचामल, अंश, बालबालिकाको शिक्षा तथा भरणपोषण खर्च उपलब्ध गराइदिन माग गर्ने गरेको अदालतले जनाएको छ।


