इटहरी। तेह्रथुमको वसन्तपुर बजारनजिक अवस्थित चोत्लुङ पार्क पर्यटकीय स्थलसँगै याक्थुङ ९लिम्बू० संस्कृति, मुन्धुमी परम्परा र इतिहास अध्ययनको महत्त्वपूर्ण केन्द्रका रूपमा विकसित हुँदै गएको छ।
पृथ्वीनारायण शाह र लिम्बुवानबिच विभिन्न समयमा भएका सन्धि, सम्झौता, रुक्का तथा ऐतिहासिक दस्तावेज सङ्ग्रह गरी राखिएपछि यो पार्क आगन्तुकका लागि संस्कृति, मुन्धुम र इतिहास अध्ययनको केन्द्र बन्दै गएको हो। लालीगुराँस नगरपालिकाको सेवा केन्द्र वसन्तपुर बजारसँगै निर्माण गरिएको चोत्लुङ पार्कमा आन्तरिक तथा बाह्य पर्यटकको भिड लाग्ने गरेको छ। पार्कमा रैथाने वास्तुकला र विभिन्न शैलीका संरचना निर्माण गरिएका छन्। ढुङ्गाले छापिएका बाटा, परम्परागत शैलीका फलैंचा र बिसौनीहरूले याक्थुङ संस्कृतिको झल्को दिने गरेका छन्। यसले आगन्तुकलाई प्रकृति र संस्कृतिको अद्वितीय संयोजनको अनुभव गराउने गरेको छ।
पार्कभित्र मुन्धुममा वर्णित वनस्पतिहरू फुन्जिङ्बा ९पैंयूँ०, सिङ्चाङ्गो याम्चाङ्गो ९धसिङ्गरे०, तेरुलासे ९केरा० र लिरुसिङ् फा ९मलिबाँस० रोपिएका छन्। यस्तै करिब चार हजार १०० मिटर उचाइमा पाइने गुराँसलगायत अन्य बिरुवासमेत यहाँ ल्याएर रोपिएको छ। मुन्धुममा वर्णन गरिए अनुसार अग्ला ढुङ्गा गाडी त्यसको फेदमा दुबो रोपिएको छ। यसले यहाँको भू–संस्कृति र आध्यात्मिक परम्परालाई जीवन्त बनाएको छ। पार्कभित्र रहेको युमा संग्रहालय चोत्लुङ पार्कको अर्को महत्त्वपूर्ण आकर्षण हो। पृथ्वीनारायण शाह र लिम्बुवानबिच भएका विभिन्न सन्धि, सम्झौता, रुक्का तथा ऐतिहासिक दस्तावेज सङ्ग्रहालयमा सुरक्षित राखिएका छन्। त्यस्तै याक्थुङ ९लिम्बू० समुदायसँग सम्बन्धित पुराना गरगहना, भेषभूषा, हातहतियार, घरेलु उपकरण, वास्तुकला, सिक्का लगायत सामग्रीसमेत सङ्ग्रह गरिएको छ।
यो सङ्ग्रहालयको उद्घाटन २०७६ पुस ५ गते नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति तथा वरिष्ठ कवि बैरागी काइँलाले गर्नुभएको थियो। यहाँका ऐतिहासिक सामग्री लिम्बू इतिहास अध्ययन गर्ने अनुसन्धानकर्ताका लागि उपयोगी रहेको बताइन्छ। चोत्लुङ पार्क भ्रमण गर्नुभएकी जमुना आङबाङ खेवाले यहाँ आएपछि आफ्नो संस्कृति र इतिहास बुझ्ने अवसर पाएको बताउनुभयो। ‘चोत्लुङ’ याक्थुङ भाषाको शब्द हो, जसको अर्थ ‘सिद्धि’ वा ‘पूर्णता’ भन्ने बुझिन्छ। ताप्लेजुङकी मुना लिम्बूले पनि पार्कको वातावरणले लिम्बू संस्कृतिलाई पूर्णता दिएको अनुभूति भएको बताउनुभयो। २०७४ सालदेखि निर्माण सुरु गरिएको चोत्लुङ पार्क एक सय रोपनीभन्दा बढी क्षेत्रमा फैलिएको छ। मुन्धुम र इतिहासका अध्येता तथा लालीगुराँस नगरपालिकाका नगर प्रमुख अर्जुनबाबु माबुहाङको परिकल्पनामा पार्क निर्माण गरिएको हो। पार्क निर्माणमा लालीगुराँस नगरपालिका, नयाँ सहर आयोजना कार्यालय वसन्तपुर तथा अन्य निकायको संयुक्त लगानी रहेको नगर प्रमुख माबुहाङले बताउनुभयो। पार्क निर्माणमा हालसम्म दुई करोड रुपियाँभन्दा बढी खर्च भइसकेको उहाँले जानकारी दिनुभयो। २०७४ सालमा पहिलो पटक स्थानीय तहमा निर्वाचित भएपछि सीमित बजेट र स्थानीय विकासका नयाँ विकल्प खोज्ने क्रममा स्थानीय संस्कृति, भाषा, परम्परा र जीवनशैलीलाई पर्यटनसँग जोड्ने उद्देश्यले चोत्लुङ पार्क निर्माण गरिएको उहाँको भनाइ छ।
लिम्बू समुदायको ढुङ्गा गाड्ने परम्परा, मुन्धुम दर्शन, स्थानीय ज्ञान र प्रकृतिप्रतिको श्रद्धामा आधारित भएर पार्क निर्माण गरिएको नगर प्रमुख माबुहाङले बताउनुभयो। मुन्धुमअनुसार मानिसको आत्मा मृत्युपछि खोला, नाला, हिमाल, वनस्पति र पशुपक्षीजस्ता प्राकृतिक तत्वमा वास हुन्छ भन्ने मान्यता रहेको छ। आत्मालाई सम्मान गरे सुख, समृद्धि र सुस्वास्थ्य प्राप्त हुने तथा बेवास्ता गरे रोग, महामारी, बाढीपहिरो र अन्य विपत्ति निम्तिने विश्वास लिम्बू समुदायमा पाइन्छ। यही दर्शनका आधारमा पार्कमार्फत वातावरण संरक्षण, जलवायु परिवर्तन न्यूनीकरण र प्रकृतिमैत्री जीवनशैलीको सन्देश प्रवाह गर्न खोजिएको छ। लिम्बू भाषामा ‘चोत्लुङ’ शब्दमा ‘चो’ र ‘लुङ’ ९ढुङ्गा०समावेश छन्, जसको अर्थ पवित्र वा परोपकारी ढुङ्गा रहेको बताइन्छ।
भविष्यमा पार्कलाई थप इको–डिजाइन, पशुपक्षीमैत्री तथा पर्यावरणमैत्री बनाउँदै अर्गानिक खाना, स्थानीय उत्पादन र सांस्कृतिक गतिविधिसँग जोडेर वार्षिक पाँचदेखि छ करोड रुपियाँ आम्दानी गर्ने लक्ष्य राखिएको नगर प्रमुख माबुहाङले बताउनुभयो। चोत्लुङ पार्क प्रवेशका लागि ५० रुपियाँ र सङ्ग्रहालय अवलोकनका लागि १०० रुपियाँ शुल्क लाग्छ। पार्कबाट वार्षिक औसत करिब १३ लाख रुपियाँ राजस्व सङ्कलन हुने गरेको छ। वैशाख १ गते मात्रै २ लाख ८२ हजार रुपियाँसम्म राजस्व सङ्कलन भएको थियो। वसन्त ऋतुमा विशेषगरी गुराँस फुल्ने समयमा यहाँ पर्यटकको अत्यधिक भिड लाग्ने गरेको छ। टीएमजे क्षेत्रमा घुम्न आउने पर्यटकहरू प्रायः चोत्लुङ पार्कको अवलोकन र अध्ययन गरेर फर्किने गरेका छन्। चोत्लुङ पार्क अहिले केवल पर्यटकीय स्थल मात्र नभई याक्थुङ ९लिम्बू० संस्कृति, मुन्धुमी परम्परा र इतिहासको जीवित संग्रहालयका रूपमा स्थापित हुँदै गएको छ।


