इटहरी । तेह्रथुम र धनकुटाको सिमास्थित चित्रे बजारमा साना तथा ठूला सवारी साधनहरूको निःशुल्क यान्त्रिक (प्राविधिक) परीक्षण कार्यक्रम सञ्चालन गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय तेह्रथुम, जिल्ला प्रहरी कार्यालय तेह्रथुम, जिल्ला ट्राफिक प्रहरी कार्यालय तेह्रथुम, इलाका प्रहरी कार्यालय बासन्तपुर तथा यातायात व्यवस्था कार्यालय धनकुटाको संयुक्त पहलमा आयोजित कार्यक्रममा सवारी साधनहरूको ब्रेक, लाइट, टायर, इन्जिन लगायतका प्राविधिक अवस्थाको परीक्षण गरी चालक तथा सवारीधनीलाई सुरक्षित यात्रा सम्बन्धी आवश्यक सुझाव प्रदान गरिएको थियो । जिल्ला ट्राफिक प्रहरी कार्यालय तेह्रथुमका प्रमुख प्रहरी सहायक निरीक्षक कृष्णकुमार पण्डितका अनुसार कार्यक्रमको मुख्य उद्देश्य सडक दुर्घटना न्यूनीकरण गर्नु, सवारी साधनलाई प्राविधिक रूपमा सुरक्षित बनाउनु तथा चालकहरूमा ट्राफिक नियम र सडक सुरक्षाप्रति थप सचेतना अभिवृद्धि गर्नु रहेको छ।
उहाँले नियमित रूपमा सवारी साधनको प्राविधिक परीक्षण गर्न, समयमै मर्मतसम्भार गर्न र ट्राफिक नियमको पूर्ण पालना गर्न सके सडक दुर्घटना न्यूनीकरणमा ठूलो सहयोग पुग्ने बताउनुभयो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बन्दना राई, जिल्ला प्रहरी कार्यालय तेह्रथुमका प्रमुख प्रहरी नायव उपरीक्षक लक्ष्मण ओली, इलाका प्रहरी कार्यालय बासन्तपुरका प्रमुख प्रहरी निरीक्षक रुपेश तामाङ, जिल्ला ट्राफिक प्रहरी कार्यालय तेह्रथुमका प्रमुख प्रहरी सहायक निरीक्षक कृष्णकुमार पण्डित, नेपाली सेना, सशस्त्र प्रहरी बल नेपाल तथा अन्य सुरक्षा निकायका प्रमुख एवं प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रम मार्फत सबै चालक तथा सवारीधनीलाई सवारी साधनको नियमित प्राविधिक परीक्षण गराउन, ट्राफिक नियमको पूर्ण पालना गर्न तथा सुरक्षित यात्रालाई जीवनशैलीको अभिन्न हिस्सा बनाउन आग्रह गरिएको छ ।


