इटहरी। धनकुटाको मूलघाटमा जलाउँदै गरिएको चिता तमोर नदीको बाढीले बगाएको छ। धनकुटा नगरपालिका–६ आत्माराका ४३ वर्षीय गौरी रोकाको मृत्यु भएपछि अन्त्येष्टिका लागि मूलघाट लगिएको थियो। रोकाको शव चितामा राखेर जलाउने क्रममा सोमबार तमोर नदीमा आएको बाढीले शवसहितको चिता बगाएको हो।

शव जलाउने क्रममा नदीमा पानीको बहाव अचानक बढेपछि चिता बगेको प्रत्यक्षदर्शी दीपक पोख्रेलले जानकारी दिनुभयो। उहाँका अनुसार नदी किनारमा बनाइएको चिता करिब ७५ प्रतिशत जलिसकेको अवस्थामा एक्कासि आएको बाढीले बगाएको थियो। नदीले चिता बीच भागमा पुर्‍याउँदा पनि त्यसमा आगो बलिरहेको थियो। रोकाको शवअघि धनकुटा नगरपालिका–९ की राधिका निरौलाको चिता बनाएर अन्त्येष्टि भइरहेको थियो। रोकाको चिता बगेपछि शव निकालेर पुनः अर्को चिता बनाउने क्रममा पनि बाढीले असर पुर्‍याएको मलामीले बताएका छन्। बाढीको छाल बढेपछि मलामीहरूमा समेत भागदौड मच्चिएको थियो। शव मुस्किलले निकालेर पुनः अर्को चिता बनाई अन्त्येष्टि गरिएको थियो।

यस्तै, छथर जोरपाटी गाउँपालिका–२ की मृतक चन्द्रकला अधिकारीको दाहसंस्कार भइरहेको चितामा समेत तमोर नदीको बाढीले असर पुर्‍याएको छ। तमोर नदीमा आएको बाढीले यसअघि पनि मूलघाट क्षेत्रमा भौतिक संरचनामा क्षति पुर्‍याउँदै आएको छ। वर्षायाम सुरु भएपछि नदीमा पानीको बहाव बढ्दा दाहसंस्कारमा समेत समस्या हुँदै आएको छ।  यसअघि छिटफुट रूपमा यस्ता घटना भए पनि यसपटक चारवटा चिता नै प्रभावित हुने गरी घटना भएको विश्रान्तिका महासचिव जनार्दन घिमिरेले बताउनुभयो। उहाँका अनुसार यस्तो घटना पहिलो पटक भएको हो।