इटहरी। ताप्लेजुङको सुकेटार विमानस्थलमा एक महिनायता उडान अवरुद्ध बनेको छ । मौसम प्रतिकूलताका कारण पछिल्लो एक महिना बढी समयदेखि सुकेटार विमानस्थलमा उडान अवरुद्ध हुँदै आएको हो ।
ताप्लेजुङस्थित नेपाल वायु सेवा निगमका स्टेसन इन्चार्ज नारायणकुमार कार्कीका अनुसार प्रतिकूल मौसमकै कारण उडान अवरुद्ध बनेको हो । प्रतिकूल मौसम अर्थात् निरन्तर वर्षासँगै बाक्लो हुस्सु र कुहिरो लाग्ने गरेकाले सुकेटार विमानस्थलमा उडान अवरुद्ध हुँदै आएको स्टेसन इन्चार्ज कार्कीले बताउनुभयो ।
उहाँका अनुसार गत जेठ २२ गतेदेखि सुकेटारमा उडान अवरुद्ध बनेको छ । उडान अवरुद्ध बनेपछि यात्रुले सेवाबाट बञ्चित हुनु परेको छ । मौसममा सुधार नआएसम्म उडान नियमित हुने अवस्था नरहेको स्टेसन इन्चार्ज कार्कीको भनाइ छ ।
सुकेटार विमानस्थलमा नेपाल वायु सेवा निगमको ट्विनअटर जहाजले काठमाडौँ–ताप्लेजुङ–काठमाडौँ उडान गर्ने गरेको छ । प्रत्येक साताको सोमबार, बुधबार र शुक्रबार गरी तीन दिन उडान हुने गर्दछ । अहिले प्रतिकूल मौसमका कारण सुकेटारमा सञ्चालन हुँदै आएको एकमात्र निगमको उडान अवरुद्ध बनेको हो ।


