इटहरी । भोजपुरको पूर्वी अरुण गाउँपालिकाले आफ्नो गौरवको आयोजना अन्तर्गत वडा नम्बर ६, जरायोटारस्थित खोलिटार–पाल्पाले सडक खण्डको ५५० मिटर भागमा कालोपत्रे गर्ने कार्य सफलतापूर्वक सम्पन्न गरेको छ ।
आर्थिक वर्ष २०८२÷८३ को विनियोजित १ करोड रुपैयाँको बजेटबाट कुल ३ किलोमिटर लम्बाइ मध्येको यस खण्डलाई पहिलो चरणमा पिच गरिएको हो। बाँकी भागलाई आगामी दिनमा क्रमशः कालोपत्रे गर्दै लगिने पालिकाको योजना छ । गाउँपालिकाका अध्यक्ष शालिकराम खत्रीले पूर्वाधार विकासलाई तीव्रता दिँदै यस सडकलाई विशेष प्राथमिकताका साथ अगाडि बढाइएको बताउनुभयो। यसैबीच, अनुगमनका क्रममा केही ठाउँमा प्राविधिक त्रुटि देखिएपछि उपाध्यक्ष बिनिता ढकालले गुणस्तरमा कुनै सम्झौता नहुने स्पष्ट पार्दै निर्माण व्यवसायी ’एस.एन.पी.एस. निर्माण सेवा’ लाई तत्काल त्रुटि सच्याउन निर्देशन दिनुभएको छ ।
आयोजनाबारे जानकारी दिँदै गाउँपालिकाका इन्जिनियर सञ्जीव घिमिरेले निर्धारित मापदण्ड अनुसार नै काम भएको र सानातिना कमजोरीलाई तत्काल सुधार गराइने प्रतिबद्धता जनाउनुभयो। यता वडाध्यक्ष गणेश टका राईले यस विकासले वडालाई नयाँ युगमा लैजाने र यहाँको आर्थिक–सामाजिक रूपान्तरणमा दूरगामी महत्त्व राख्ने बताउनुभयो। सडक पक्की बनेसँगै जरायोटार, खोलिटार र पाल्पालेका स्थानीय बासिन्दा आवतजावत र कृषि उपज बजार पु¥याउन सहज हुने भन्दै निकै हर्षित भएका छन् ।


