इटहरी। विराटनगरस्थित कोशी अस्पतालको अतिक्रमित जग्गा खाली गराउन जिल्ला प्रशासन कार्यालय मोरङले अभियान सुरु गरेको छ।
अस्पतालको स्वामित्वमा रहेको जग्गामा विभिन्न संघ–संस्थाले निर्माण गरी भाडामा लगाएका व्यावसायिक संरचना आइतबार बिहानदेखि भत्काउन थालिएको हो। जिल्ला प्रशासन कार्यालय मोरङको नेतृत्वमा सुरु गरिएको अभियानमा तीनवटा जेसिबी प्रयोग गरिएको छ। दशकौँदेखि कोशी अस्पतालको जग्गामा निर्माण गरिएका नेपाल रेडक्रस सोसाइटी, नेपाल क्षयरोग निवारण संघ, गणेश मन्दिर र देवकोटा पुस्तकालयलगायत संस्थाका सटर तथा भवनहरू भत्काउन थालिएको हो।
यी संस्थाले लामो समयदेखि अस्पतालको जग्गामा संरचना निर्माण गरी औषधी पसल तथा चिकित्सकीय क्लिनिक सञ्चालनका लागि भाडामा लगाउँदै आएका थिए। केही दिनअघि गृहमन्त्री सुदन गुरुङ र स्वास्थ्य मन्त्री निशा मेहताले अस्पतालको स्थलगत अनुगमन गर्नुभएको थियो। त्यस क्रममा अस्पतालको विकासमा बाधा पुग्ने गरी सञ्चालनमा रहेका व्यावसायिक पसल सात दिनभित्र खाली गर्न निर्देशन दिनुभएको थियो। प्रशासनले दिएको समयसीमा आइतबार सकिएसँगै बिहानैदेखि डोजर परिचालन गरिएको हो। त्यसअघि सटरमा व्यवसाय गर्दै आएका व्यवसायीहरूले पसल खाली गरिसकेका थिए।
अस्पताल क्षेत्रमा हुन सक्ने सम्भावित तनावलाई मध्यनजर गर्दै अस्पताल चोक र आसपासका क्षेत्रमा ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ। जिल्ला प्रशासन कार्यालय मोरङका अनुसार तत्कालका लागि संघ–संस्थाले व्यावसायिक प्रयोजनमा प्रयोग गरेका संरचना मात्र हटाइनेछ। ती संस्थालाई भने तत्कालै त्यहाँबाट पूर्ण रूपमा हटाउने निर्णय नभएको जनाइएको छ। अस्पतालको जग्गा अस्पतालकै स्तरोन्नति तथा बिरामी सेवाका लागि प्रयोग गर्ने उद्देश्यले यो कदम चालिएको स्थानीय प्रशासनले जनाएको छ।


