इटहरी। पाँचथरको हिलिहाङ गाउँपालिका–६ का एक किसानले पालेको खसीमा रेबिजको जीवाणु भेटिएको छ । स्थानीय रामचन्द्र मैनालीले पालेको खसीमा रेबिजसँग मिल्दोजुल्दो लक्षण देखिएर मृत्यु भएपछि परीक्षण गर्दा रेबिजको जीवाणु पुष्टि भएको हो ।
खसीको मृत्युपश्चात् भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पाँचथरमा ल्याएर प्राविधिक परीक्षण गर्दा रेबिजको जीवाणु भेटिएको हिलिहाङ गाउँपालिका पशु सेवा शाखाका प्रमुख धीरज पटेलले जानकारी दिनुभयो । मैनालीले उक्त खसी अन्यत्रबाट किनेर ल्याएको र त्यसलाई स्याल वा कुकुरले टोकेरनटोकेकोबारे भने जानकारी नभएको बताउनुभयो। पशु सेवा शाखाका अनुसार असार २६ गते गरिएको प्रयोगशाला परीक्षणबाट रेबिज सङ्क्रमण पुष्टि भएको हो । सङ्क्रमण देखिएपछि गाउँपालिकाले स्थानीयवासीलाई शङ्कास्पद व्यवहार देखाएका जनावरबाट टाढा रहन, यस्ता जनावर देखिएमा तत्काल पशु सेवा शाखामा जानकारी गराउन तथा आवश्यक जनचेतना फैलाउन आग्रह गरेको छ ।
यसअघि असार २५ गते जिल्लाकै फाल्गुनन्द गाउँपालिका–१, नवमीडाँडामा रेबिजसँग मिल्दोजुल्दो लक्षण देखिएको कुकुरको मृत्यु भएपछि गरिएको परीक्षणमा पनि रेबिज सङ्क्रमण पुष्टि भएको थियो । लगातार दुई स्थानमा रेबिज सङ्क्रमण पुष्टि भएपछि जिल्लाका पशु स्वास्थ्य निकायले घरपालुवा जनावरलाई समयमै रेबिजविरुद्धको खोप लगाउन, शङ्कास्पद जनावरको सम्पर्कमा नजान तथा टोकेको वा चिथोरेको अवस्थामा तत्काल स्वास्थ्य संस्थामा पुगेर आवश्यक उपचार लिन आग्रह गरेका छन् । रेबिज मानिस र जनावर दुवैका लागि घातक सरुवा रोग भएकाले यसको रोकथामका लागि समयमै सचेतना, खोप र निगरानीलाई प्रभावकारी बनाउन सम्बन्धित निकायले जोड दिएका छन् ।


