इटहरी। पाँचथरको फाल्गुनन्द गाउँपालिकामा रेबिज संक्रमण देखिएको छ। गाउँपालिका–१ नवमीडाँडामा मरेको कुकुरको प्रारम्भिक परीक्षणबाट रेबिज संक्रमण पुष्टि भएको हो।
यसअघि गाउँपालिका–६ र ७ मा पनि मरेका कुकुरमा रेबिज संक्रमण पुष्टि भएको थियो। लगातार विभिन्न वडामा रेबिज देखिन थालेपछि स्थानीयमा त्रास फैलिएको छ। फाल्गुनन्द गाउँपालिका–१ को साविक नवमीडाँडा–६ डिहिटार क्षेत्रमा रेबिजसँग मिल्दोजुल्दो लक्षण देखिएको बेवारिसे कुकुर मरेपछि स्थानीयले पशुपन्छी सेवा शाखालाई जानकारी गराएका थिए। त्यसपछि शाखाको प्राविधिक टोली घटनास्थलमा पुगेर नमुना परीक्षण गर्दा प्रारम्भिक नतिजामा रेबिज पुष्टि भएको गाउँपालिकाको पशुपन्छी सेवा शाखा प्रमुख गोपाल घिमिरेले जानकारी दिनुभयो।
वडाध्यक्ष होमप्रसाद आङदेम्बेका अनुसार कुकुरको अस्वाभाविक व्यवहार र मृत्युपछि स्थानीयमा त्रास फैलिएको थियो। प्रारम्भिक परीक्षणबाट रेबिज पुष्टि भएपछि नवमीडाँडा तथा आसपासका बस्तीमा विशेष सतर्कता अपनाउन आग्रह गरिएको उहाँले बताउनुभयो।विभिन्न वडामा रेबिज संक्रमित कुकुर भेटिन थालेपछि गाउँपालिकाले बेवारिसे कुकुर व्यवस्थापन, घरपालुवा कुकुरलाई अनिवार्य रूपमा रेबिजविरुद्धको खोप लगाउन तथा शंकास्पद जनावरको सम्पर्कमा नजान सर्वसाधारणलाई आग्रह गरेको छ। रेबिज मानिस र जनावर दुवैका लागि घातक रोग भएकाले कुनै जनावरले टोकेको वा चिथोरेको अवस्थामा तत्काल साबुनपानीले घाउ सफा गरी स्वास्थ्य संस्थामा पुगेर उपचार तथा रेबिजविरुद्धको खोप लगाउन स्वास्थ्यकर्मीले सुझाव दिएका छन्।


