इटहरी । इटहरी उद्योग वाणिज्य संघको आगामी निर्वाचनको मिति नजिकिएसँगै ’साझा समूह’ का अध्यक्ष पदका उम्मेदवार नवराज काफ्लेको पक्षमा व्यावसायिक माहौल बलियो बन्दै गएको छ।
तीन दशक देखि पशुपति ग्रुपमार्फत स्थापित उद्यमी काफ्लेले संघमा लगातार तीन कार्यकाल सदस्य र भवन निर्माण समितिको कोषाध्यक्ष भई कुशल नेतृत्व सम्हालिसक्नुभएको छ । काफ्लेले यसपटक परम्परागत चुनावी शैलीभन्दा फरक, वैज्ञानिक र प्रविधिमैत्री “मुठ्ठा देखि मोबाइल“ को अवधारणा अघि सार्नुभएको छ । मोबाइल एप मार्फत सदस्यता र नवीकरण, डिजिटल भुक्तानी र एकीकृत व्यावसायिक इकोसिस्टम निर्माण गर्ने उहाँको योजनाले विशेष गरी युवा र साना व्यवसायीहरू आकर्षित भएका छन्।
उहाँले घरबहाल कर, व्यावसायिक कर र बैंकिङ जटिलता हटाउन स्थानीय देखि संघीय सरकार सम्म पैरवी गर्ने, पार्किङ समस्याको दीर्घकालीन समाधान गर्ने र सुरक्षित रात्रिकालीन बजार सञ्चालन गर्ने प्रतिबद्धता जनाउनुभएको छ । स्टार्टअप उद्यमीका लागि सुरक्षित लगानीको वातावरण बनाउनु उहाँको प्राथमिकतामा रहेको छ । साझा समूहबाट एसोसिएट र वस्तुगत सदस्यहरू निर्विरोध निर्वाचित भइसकेकाले काफ्ले प्यानल बलियो देखिएको छ । गायत्री भण्डारी कट्वालसँगको रोचक प्रतिस्पर्धाका बीच, पारदर्शी र प्रविधिमैत्री एजेन्डाका कारण आम मतदाताले काफ्लेलाई भरोसायोग्य नेतृत्वका रूपमा हेरेका छन्।


