इटहरी। पाँचथरमा प्रहरीले बेवारिसे तीन थान भरुवा बन्दुक बरामद गरेको छ । अवैध हतियार खोजी तथा नियन्त्रण अभियानअन्तर्गत सञ्चालन गरिएको ‘स्वीप अपरेसन’ का क्रममा ती भरुवा बन्दुक बरामद गरिएको हो ।
जिल्लाको मिक्लाजुङ गाउँपालिका–२ सरङस्थित खोल्सीबाट इलाका प्रहरी कार्यालय रविको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा ती बन्दुक फेला पारेको हो । प्रहरीका अनुसार बरामद भएका भरुवा बन्दुक कसले र कुन उद्देश्यले उक्त स्थानमा लुकाएर राखेको हो भन्ने खुल्न सकेको छैन । बन्दुक नियन्त्रणमा लिएर आवश्यक कानुनी प्रक्रिया पूरा गरिएको पाँचथरका प्रहरी नायब उपरीक्षक अनिषकुमार कर्णले जानकारी दिनुभयो ।
कर्णका अनुसार अवैध हतियार नियन्त्रण अभियानलाई प्रभावकारी बनाउन विभिन्न स्थानमा नियमित रूपमा स्वीप अपरेसन सञ्चालन भइरहेको छ । यसै क्रममा बरामद भएका हतियारसँग सम्बन्धित व्यक्ति वा समूहको पहिचान गर्न अनुसन्धानलाई तीव्र पारिएको प्रहरीले जनाएको छ । प्रहरीले अवैध हतियारबारे कुनै सूचना भए नजिकको प्रहरी कार्यालयमा जानकारी गराउन सर्वसाधारणसँग आग्रहसमेत गरेको छ ।


