इटहरी ।  इलामको माङसेबुङ गाउँपालिका–३ सिम्लेका किसान कृष्ण बुढाथोकीले २३ रोपनी क्षेत्रफलमा अलैँचीखेती लगाउनुभएको छ ।

विगत तीन वर्षदेखि अलैँचीखेती सुरु गर्नुभएका उहाँले धान फल्ने खेत मासेर अलैँचीखेती विस्तार गर्नुभएको हो । अलैँची बेचेर उहाँले वार्षिक लाखौँ आम्दानी गर्दै आउनुभएको छ । यस वर्ष मात्र उहाँले अलैँची बेचेर रु १७ लाख हात पार्नुभयो । प्रतिमन ९४० किलो० रु एक लाखका दरले अलैँची बेच्नुभएको उहाँले बताउनुभयो । उहाँले जिर्मले जातको अलैँचीखेती गर्दै आउनुभएको छ । पछिल्लो वर्ष व्यावसायिक अलैँचीखेतीमा लाग्नुभएका उहाँले अलैँचीको बजार राम्रो भएकाले विदेश जान छाडेर व्यावसायिक अलैँचीखेतीमा जुटेको बताउनुभयो ।

माङसेबुङ –२ का अर्का किसान गणेश लिम्बूले पनि यस वर्ष अलैँची बिक्रीबाट रु १६ लाख बढी आम्दानी गर्नुभएको छ । विगत पाँच वर्षदेखि अलैँचीखेती गर्दै आउनुभएका लिम्बूले २५ रोपनी क्षेत्रफलको खेत मासेर अलैँचीखेती गर्दै आउनुभएको छ । अलैँची बिक्रीबाट आएको आम्दानीले आफ्नो दैनिक घरव्यवहार खर्च साथै छोराछोरीको पढाइ खर्च व्यवस्थापन गर्दै आएको उहाँले बताउनुभयो । उहाँले रामशाही र गोलशाही जातको अलैँतीखेती गर्दै आउनुभएको छ । पछिल्लो समय अलैँचीमा रोग नलाग्ने र राम्रो मूल्यमा बिक्री हुन थालेपछि किसानहरू अलैँचीखेतीमा आकर्षित भएका हुन् । अलैँचीखेतीले यहाँका किसानको जीवनस्तरमा परिवर्तन ल्याउन थालेको छ । किसानहरूले व्यावसायिक रूपमा अलैँचीखेती गरी मनग्य आम्दानी गर्न सफल भएका छन् । 

अलैँचीको मूल्य बढेसँगै किसानले धान र अन्य खेती छाडेर पनि अलैँतीखेतीलाई बढाएका छन् । अरु खेतीको दाँजोमा अलैँचीखेतीले नाफा बढी हुने भएकाले पनि यसो खेतीमा किसानको उत्साह बढेको हो । यसअघि ओसिलो पाखाभित्ता र खोलाखोल्सीमा मात्र खेती गरिने अलैँचीलाई पछिल्लो सयम किसानले अन्य अन्न बाली छाडेर खेत र करेसाबारीमा रोप्न थालेका छन् । परम्परागत शैलीको अलैँचीखेतीबाट आधुनिकीकरणसमेत हुन थालेपछि उत्पादन र आम्दानीमा समेत वृद्धि हुन थालेको माङसेबुङ–३ चिबुवाका किसान इन्द्रबहादुर लिम्बूको अनुभव छ ।  उहाँले बेर्सेनि १५ मन अलैँची बिक्री गरेर लाखौँ आम्दानी गरिरहेको सुनाउनुभयो ।

अलैँचीखेतीबाट मनग्ये आम्दानी लिन सफल भएपछि आफू अलैँचीखेती विस्तार गर्ने योजना रहेको सुनाउनुभयो । माङसेबुङ गाउँपालिका वडा नं १, २, ३ र ६ का विभिन्न क्षेत्रका किसानले व्यावसायिक रूपमा अलैँचीखेती गर्दै आएका छन् । पहाडी भेगका गाउँमा अलैँचीखेती किसानहरू बढ्दै गएका छन् । खेर गइरहेको, अन्नबाली राम्ररी नफस्टाउने, पानी बगिरहने, बढी चिस्यान, सेपिलो, ओसिलो, छायाँ पर्ने, भिरालो, कम गहिरो माटो भएको, कमसल जग्गामा समेत अलैँचीखेती गर्न सकिने भएकाले किसानहरू अलैँचीखेतीतर्फ आकर्षित भएका हुन् । उनीहरूले खेतबारीमा अन्नबाली लगाउन छाडेर अलैँची रोपेका छन् । सामान्य अलैँचीखेतीबाट सुरु गरेका किसानले अहिले व्यावसायिक रूपमा अलैँचीखेती सुरु गर्न थालेका छन् । उत्पादन र मूल्य राम्रो हुँदै गएकाले किसानहरू अलैँचीखेतीतर्फ दिनप्रतिदिन आकर्षित बन्दै गएका हुन् । 

कम मिहिनेत र थोरै लगानीमा नै मनग्य आम्दानी हुन थालेपछि किसानहरू व्यावसायिक अलैँचीखेतीमा आकर्षित भएका हुन् । खेतबारीमा अन्नबाली लगाउने जनशक्ति अभाव र लगाएको अन्नबाली पनि बाँदरले खाइदिने समस्याले अधिकांश किसानले व्यावसायिक अलैँचीखेती सुरु गरेका छन् । बाँझो रहेका पाखा पखेरामा समेत हुने भएपछि किसानले व्यावसायिक रूपमा अलैँचीखेती सुरु गरेका हुन् । उनीहरूले खेतीयोग्य जमिन मासेर व्यावसायिक अलैँचीखेती गर्दै आएका हुन् । यहाँका किसानले सामशाही, गोलशाही, जिर्तले, भर्लाङ्गेलगायत जातका अलैँचीखेती गर्दै आएका छन् । अलैँची एक सदावहार बाली हो । यसले एकपटक रोपेपछि २० देखि २५ वर्षसम्म उत्पादन दिइरहन्छ । यसको बोट एकदेखि दुई दशमलव पाँच मिटरसम्म अग्लो हुन्छ । यसको मध्यम खालको झाङ हुन्छ । अलैँचीका वानस्पतिक भागलाई जरा, लाँक्रा, पात, थुङ्गा, फल र दाना गरी छ भागमा विभाजन गरिएको हुन्छ ।

भिरालो, सेपिलो, ओसिलो र छहारी भएको जमिनमा उत्पादन हुने अलैँचीखेती समुद्र सतहदेखि ६०० मिटरदेखि २१०० मिटर उचाइसम्मा गर्न सकिन्छ ।  यसका लागि उपयुक्त तापक्रम १० देखि ३० डिग्री सेल्सियस हुने पहाडी क्षेत्र मानिन्छ । अलैँचीले बढी आद्रता भएमा राम्रो मानिन्छ । वर्षा जति भयो त्यति राम्रो मानिन्छ । सिँचाइभन्दा वर्षाको पानी राम्रो मानिन्छ । तर फेदमा पानी जम्न दिनु भने हुँदैन । वार्षिक सरदर वर्षा २००० देखि २५०० मिलीमिटर हुने स्थानमा यसको व्यावसायिक खेती गरिन्छ । यसले बढी हुरीबतास र तुषारो एवं हिउँ सहन सक्दैन । अलैँची विशेषगरी मसला, जडीबुटी तथा औषधिका रूपमा प्रयोग हुने गरेको पाइएको छ । अलैँचीमा थुप्रै औषधीय गुणहरू पाइने विज्ञहरूको भनाइ छ । अलैँचीलाई मुखमा राखेर चुस्नाले स्वरलाई ठिक बनाउने र टन्सिलजस्ता रोगलाई ठिक पार्ने, अलैँचीलाई पानीमा राखेर उमाली चियाजस्तो बनाएर खानाले स्वस्थ हुने र मस्तिष्कलाई शान्त बनाउने, कलेजो र हृदयमा बल प्रदान गर्ने, अलैँचीको बोक्राको धुलो बनाइ दूध वा पानीसँग नियमित सेवन गर्नाले पाचनप्रणाली र रक्तक्रियालाई व्यवस्थित गरी मिर्गौलाका सम्पूर्ण रोगहरूलाई समाधान गर्ने विज्ञहरूको भनाइ छ ।

अलैँची किसानलाई अहिले बजार र यातायातको पनि कुनै समस्या छैन । घरैबाट सहजै रूपमा बिक्री गर्न पाउँछन् । घरघरमा गएर व्यापारीले अलैँची किन्ने गरेका छन् । घरैबाट व्यपारीले किन्ने गरेकाले किसानलाई बजारसम्म पुर्याउने झन्झटसमेत छैन । यातायातको सुविधा विस्तार भएसँगै किसानले अलैँचीको मूल्यसमेत राम्रै पाउने गरेको माङसेबुङ–२ किसान कैलाशकुमार राईले बताउनुभयो । व्यावसायिक अलैँचीखेती गर्ने किसानलाई प्रवर्द्धन गर्न माङसेबुङ गाउँपालिकाले अनुदानमा अलैँचीको बिरुवा वितरण गर्दै आएको छ । गाउँपालिकाले अनुदानमा बिरुवा वितरण गर्न थालेपछि व्यावसायिक अलैँचीखेती विस्तारमा किसान आकर्षित भएका छन् । अलैँची उत्पादनमा वृद्धि गराउने उद्देश्यले माङसेबुङले अलैँचीखेती किसानलाई ५० प्रतिशत लागत साझेदारीमा अलैँचीको बिरुवा वितरण गर्दै आएको माङसेबुङ गाउँपालिका कृषि विकास शाखा प्रमुख प्रतिक सुनुवारले बताउनुभयो ।

माङसेबुङले यस वर्ष पनि किसालाई १६ हजारवटा अलैँचीको बिरुवा वितरण गरेको छ । रामशाही र गोलशाही जातका १४ हजार भर्लाङ्गे जातका दुई हजार बिरुवा वितरण गरिएको कृषि विकास शाखा प्रमुख सुनुवारले जानकारी दिनुभयो । कतिपय किसानले व्यक्तिगत रूपमा र कतिपय किसानले सहकारी संस्था र कृषक समूहमार्फत अलैँचीखेती गर्दै आएको उहाँले बताउनुभयो । अलैँचीको बिरुवा वितरणका लागि गाउँपालिकाले रु एक लाख ५० हजार विनियोजन गरेको थियो । माङसेबुङ गाउँपालिका अध्यक्ष हेमन्त राईले कृषि क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर गाउँपालिकाले नीति तथा कार्यक्रम ल्याएको बताउनुभयो ।