इटहरी । स्काउटका विद्यार्थीहरूको शारीरिक, बौद्धिक तथा व्यक्तिगत क्षमता विकास गर्ने उद्देश्यका साथ इटहरी युथ ओपन क्र्यु र विश्व आदर्श स्काउट ट्रुपको संयुक्त आयोजनामा असार २० गते शनिबार विश्व आदर्श विद्यालय, इटहरी–४ को प्राङ्गणमा ’ट्रेसल रेस’ प्रतियोगिता सम्पन्न भएको छ । 

विश्व आदर्श विद्यालयका सहायक प्रिन्सिपल मोहन प्रसाद निरौलाको सभापतित्व तथा नेपाल स्काउटका राष्ट्रिय परिषद् सदस्य सुदर्शन भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा नेपाल स्काउटका सहायक राष्ट्रिय प्रशिक्षकद्वय प्रदीप कुमार विश्वास र दिवस राजवंशी, तथा बराहक्षेत्र स्थानीय प्रमुख आयुक्त चेतनाथ भट्टराईको विशेष आतिथ्यता रहेको थियो। स्काउटर प्रबिन बिस्टको संयोजकत्व र फणीन्द्र प्रसाद दाहालको सञ्चालनमा अघि बढेको सो कार्यक्रममा रोभर लिडर डिल्ली कुमार शर्माले स्वागत मन्तव्य राख्नुभएको थियो भने स्काउटर पूर्णिमा सङ्ग्रौला तथा विभिन्न रोभर रेन्जरहरूको समेत उपस्थिति रहेको थियो।

इटहरीका शिक्षाविद् एवं वरिष्ठ स्काउटर हेमन्त भट्टराई र स्काउटर सुमन बराल सम्मिलित निर्णायक समितिले गरेको उत्कृष्ट मूल्याङ्कनका आधारमा प्रतियोगितामा ज डे ज स्काउट ट्रुप, बराहक्षेत्र प्रथम, सरस्वती स्काउट ट्रुप, इटहरी द्वितीय, राष्ट्रिय स्काउट ट्रुप, इटहरी र होराइजन स्काउट ट्रुप, इटहरी संयुक्त रूपमा तृतीय, तथा जनसहयोग स्काउट ट्रुप सान्त्वना हुन सफल भएका छन्। आयोजकले कार्यक्रमलाई भव्य रूपमा सफल पार्नका लागि उपयुक्त स्थान तथा आकर्षक पुरस्कारको व्यवस्थापन गरिदिएकोमा विश्व आदर्श एकेडेमी परिवार प्रति हार्दिक आभार एवं धन्यवाद समेत प्रकट गरेको छ ।