इटहरी । नेपालमा पछिल्लो छ महिनायता पुष्टि भएका डेंगु सङ्क्रमितमध्ये सबैभन्दा धेरै झापामा भेटिएका छन्। सरकारी तथ्यांकअनुसार पुस १७ यता देशभर एक हजार ४२ जनामा डेंगु सङ्क्रमण पुष्टि हुँदा झापामा मात्रै १३८ जना संक्रमित भएका छन्।
स्वास्थ्य सेवा विभागअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको पछिल्लो अद्यावधिक विवरणले झापालाई डेंगु सङ्क्रमणको मुख्य प्रभावित जिल्ला देखाएको हो। झापापछि काठमाडौँमा ६१, सुनसरीमा ५७, मकवानपुर र रूपन्देहीमा समान ५०, कास्कीमा ४४, ओखलढुंगा र चितवनमा ३९ तथा पाल्पामा ३४ जनामा सङ्क्रमण पुष्टि भएको छ। डेंगुबाट यो अवधिमा दुई जनाको मृत्यु भइसकेको छ। हालसम्म ७१ जिल्लामा सङ्क्रमण फैलिएको महाशाखाले जनाएको छ। झापा, सुनसरी, काठमाडौँ, चितवन, कास्की, मकवानपुर, पाल्पा र ओखलढुंगाजस्ता जिल्लामा संक्रमणको घनत्व अपेक्षाकृत बढी देखिएको छ।
प्रदेशगत विवरण हेर्दा कोशी प्रदेशमा सबैभन्दा धेरै २९२ जना संक्रमित भेटिएका छन्। त्यसपछि बागमती प्रदेशमा २६४, लुम्बिनीमा १६७, गण्डकीमा १६१, सुदूरपश्चिममा ६९, मधेसमा ५२ र कर्णालीमा ३७ जनामा संक्रमण पुष्टि भएको छ। इडीसीडीका एक अधिकारीका अनुसार डेंगुका सामान्य लक्षण देखिएमा पर्याप्त आराम, झोलिलो खानेकुरा र पारासिटामोल सेवनले स्वास्थ्यमा सुधार आउन सक्छ। तर अत्यधिक पेट दुख्ने, रक्तश्राव हुने वा बेहोस हुनेजस्ता गम्भीर लक्षण देखिएमा तत्काल स्वास्थ्य संस्थामा पुग्नुपर्ने आवश्यकता छ।
नेपालमा डेंगु अब मौसमी समस्यामात्र नभई सार्वजनिक स्वास्थ्यको स्थायी चुनौतीका रूपमा देखिन थालेको छ। स्वास्थ्य वार्षिक प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८१र८२ मा देशभर ५४ हजार ३५० जना डेंगुबाट संक्रमित भएका थिए। त्यसअघि २०८०र८१ मा ४८ हजार ८८३ र २०७९र८० मा ५६ हजार ३३८ जनामा संक्रमण पुष्टि भएको थियो। वर्षेनि संक्रमितको संख्या उतारचढावपूर्ण रहे पनि डेंगु नियन्त्रणमा दीर्घकालीन रणनीति, स्थानीय तहको सक्रियता र नागरिकस्तरमा सचेतना अभिवृद्धि अपरिहार्य बन्दै गएको छ। विशेषगरी झापाजस्ता उच्च जोखिमयुक्त जिल्लामा लामखुट्टेको प्रजननस्थल नष्ट गर्ने, सरसफाइमा ध्यान दिने र प्रारम्भिक लक्षण देखिनासाथ परीक्षण गराउने उपायलाई प्राथमिकता दिन विज्ञहरूले सुझाव दिएका छन्।


