इटहरी । सुनसरीको कोशी गाउँपालिकामा जिल्ला सरकारी वकील कार्यालय सुनसरीको आयोजनामा कानुनी सचेतना कार्यक्रम गरिएको छ ।
समुदायमा सरकारी वकिल कार्यक्रम अन्तर्गत कोशी गाउँपालिका ३ स्थित श्री राष्ट्रिय माध्यमिक विद्यालय शोभनपुरमा अध्ययनरत विद्यार्थीलाई सहभागी गराई सचेतना कार्यक्रम सम्पन्न गरिएको हो । विद्यार्थीलाई जिल्ला न्यायाधिवक्ता, सह–न्यायाधिवक्ता लगायतकाले फौजदारी मुद्दा, साइबर अपराध लगायतबारे प्रष्ट पारेका थिए ।
कार्यक्रममा विद्यालयमा अध्ययनरत करिब ६० बढी विद्यार्थी सहभागी भएको विधालयका प्रधानाध्यापक हरिकृष्ण राउतले जानकारी दिनुभयो । कोशीका अध्यक्ष ऐयुव अंसारीको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा विद्यालयका प्रधानाध्यापक हरिकृष्ण राउत, विद्यालय व्यवस्थापन समिति सहित शिक्षक र विद्यार्थीको उपस्थिति रहेको जनाएको छ ।
जिल्ला सरकारी वकील कार्यालयको आयोजनामा “कानुनी सचेतना तथा समुदायमा सरकारी वकील” कार्यक्रमको मुख्य उदेश्य समुदायस्तरमा कानुनी सचेतना अभिवृद्धि गर्ने, सुशासन, भ्रष्टाचार सम्बन्धी कसूर, बैङ्किङ कसूर तथा सार्वजनिक खरिद सम्बन्धी कानुनी व्यवस्थाका विषयमा विस्तृत जानकारी दिने रहेको छ ।
सरकारी वकिल कार्यालयले यस्ता कानुनी सचेतनामूलक कार्यक्रम प्रत्येक वर्ष समुदायस्तरमा सञ्चालन गर्दै आएको जनाएको छ । कार्यालयका अनुसार यस्ता कार्यक्रमले समुदाय, सार्वजनिक निकाय तथा सेवाग्राहीबिच कानुनी जानकारी विस्तार गर्नुका साथै सुशासन र कानुनको प्रभावकारी कार्यान्वयनमा महत्त्वपूर्ण सहयोग पुग्ने विश्वास लिइएको छ ।


