इटहरी । स्वास्थ्य सेवा सहज, सुलभ र गुणस्तरीय बनाउन स्थानीय सरकारले थालेका प्रयासहरू प्रभावकारी बन्दै गएका छन् । यसैको उदाहरणका रूपमा झापाको कमल गाउँपालिका सहित झापामा सञ्चालन गरिएको कुष्ठरोग प्रमाणिकरण कार्यक्रमलाई लिन सकिन्छ ।
आर्थिक वर्ष २०८२(०८३ को राष्ट्रिय कुष्ठरोग नियन्त्रण कार्यक्रम अन्तर्गत कमल नगर अस्पतालमा आयोजित कार्यक्रममा उपचाररत कुष्ठरोग प्रभावित व्यक्तिहरूले गाउँमै विशेषज्ञ चिकित्सकबाट सेवा प्राप्त गरेका छन् । छालारोग विशेषज्ञ डा। गुरु पौडेलले बिरामीहरूको स्वास्थ्य परीक्षण, कुष्ठरोग प्रमाणीकरण तथा आवश्यक स्वास्थ्य परामर्श प्रदान गर्नुभएको थियो । विशेषज्ञ सेवा लिन टाढा धाउनुपर्ने बाध्यता हट्दै गाउँमै सेवा पाउँदा बिरामीहरू उत्साहित देखिएका थिए । उनीहरूले यहाँसम्म आउन र जानका लागि ४ सय रुपियाँ भाडा पनि पाएपछि खुसी देखिन्थे । लाइन पनि बस्नु परेन र खर्च पनि भएन, एक कुष्ठरोग लागेका बिरामीले भन्नुभयो ।
कमल गाउँपालिका अध्यक्ष हुकुमसिंह राईले नागरिकलाई आफ्नै पालिकाभित्र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउनु स्थानीय सरकारको प्राथमिकता रहेको र यस्ता कार्यक्रमहरूलाई महत्त्व दिइएको बताउनुभयो । कुष्ठरोगप्रति समाजमा रहेका भ्रम, डर र विभेद अन्त्य गर्दै समयमै परीक्षण र नियमित उपचारमा सहभागी हुन सबैलाई आग्रह गर्नुभयो । स्वास्थ्य कार्यालय झापा, नेपाल कुष्ठरोग सङ्गति झापा र कमल गाउँपालिका स्वास्थ्य शाखाको समन्वयमा सम्पन्न यस कार्यक्रमले कुष्ठरोगको प्रभावकारी व्यवस्थापन, अपाङ्गता न्यूनीकरण तथा समुदायमा स्वास्थ्य सेवाप्रतिको पहुँच विस्तार गर्न महत्त्वपूर्ण योगदान पुग्ने विश्वास लिइएको कमल गाउँपालिका स्वास्थ्य शाखा प्रमुख दीपक दाहालले बताउनुभयो ।
यसभन्दा अघि झापाको दमकमा पनि यस किसिमको कार्यक्रम भएको थियो । दमक अस्पतालमा कुष्ठरोग पहिचान तथा आवश्यक परामर्श कार्यक्रममा उल्लेख्य मात्रामा उपस्थिति रहेको जनाइएको छ ।


