इटहरी । मोरङको पथरी शनिश्चरे –२ को वडा कार्यालयले कक्षा १२ मा अध्ययनरत विद्यार्थीलाई लक्षित गरी बारिस्टा  तालिम दिएको छ ।

वडा अध्यक्ष नैना राईका अनुसार अनिवार्य सीप विकास कार्यक्रम अन्तर्गत वडा क्षेत्रका सामुदायिक तथा संस्थागत विद्यालयका ३६ जना विद्यार्थीले  तालिम लिएका हुन्। वडा कार्यालयको २ लाख २० हजार रुपैयाँ बजेटमा सञ्चालन गरिएको तालिमको उद्देश्य विद्यार्थीलाई अध्ययनसँगै रोजगारी र स्वरोजगारका लागि आवश्यक व्यावसायिक सीप प्रदान गर्नु रहेको  छ ।

तालिमका क्रममा सहभागीले कफी बनाउने कला, कफी मेसिन सञ्चालन, ग्राहक सेवा, सरसफाइ तथा क्याफे व्यवस्थापन सम्बन्धी आधारभूत ज्ञान र व्यवहारिक सीप हासिल गरेका छन्।

वडा अध्यक्ष राईले यस्ता सीपमूलक कार्यक्रमले विद्यार्थीलाई आत्मनिर्भर बन्न सहयोग पुग्ने विश्वास व्यक्त गर्दै आगामी दिनमा पनि युवामुखी तथा रोजगारमूलक तालिमलाई निरन्तरता दिइने बताउनुभएको छ ।