इटहरी । शनिबार राति परेको चट्याङ लागेर इलामको रोङ गाउँपालिकामा एक वृद्धको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय इलामका अनुसार रोङ गाउँपालिका–६ का ८८ वर्षीय कालुवीर मोक्तानको चट्याङ लागेर मृत्यु भएको हो।
टिनको छानो र टाटीको भित्तो भएको दुईतले घरको बरन्डामा चट्याङ पर्दा मोक्तानको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। चट्याङका कारण घरमा रहेको विद्युत् मिटर बक्ससमेत जलेको छ।
जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी मौसम उदासका अनुसार घटनास्थल सुरक्षित रहेको छ भने घटनाबारे थप अनुसन्धान सुरु गरिएको छ।


