इटहरी । पाँचथरको हिलिहाङ गाउँपालिका–५ मा विपद् व्यवस्थापन तथा सरसफाइ अभियानमा खटिएका एक वडा सदस्यमाथि कार्यस्थलमै कुटपिट भएको छ।
अविरल वर्षापछि प्रभावित क्षेत्रको पहिरो व्यवस्थापन तथा सरसफाइको काममा संलग्न रहनुभएका वडा सदस्य छबिन्द्र योङहाङमाथि वीरेन्द्र भनिने स्थानीय मनराज सुहाङले कुटपिट गरेका हुन्। गत असार ४ र ५ गतेको वर्षापछि वडा क्षेत्रमा उत्पन्न विपद्को व्यवस्थापनका लागि खटिरहेका बखत वडा सदस्य योङहाङमाथि असार १२ गते बिहान आकस्मिक आक्रमण भएको हो।आक्रमणकारी सुहाङले योङहाङलाई हेल्मेटले टाउको र छातीमा प्रहार गरेको बताइएको छ। आक्रमणबाट गम्भीर घाइते हुनुभएका योङहाङको हाल झापास्थित बी एन्ड सी अस्पतालमा उपचार भइरहेको छ। वडाध्यक्ष बिर्खबहादुर सुहाङका अनुसार चोटपटकका कारण वडा सदस्य योङहाङको अवस्था जटिल रहेको छ।

वडाध्यक्ष सुहाङले शनिबार एक प्रेस विज्ञप्ति जारी गर्नुहुँदै उक्त घटनाको घोर भर्त्सना गर्नुभएको छ। उहाँले प्राकृतिक विपद्को यस्तो संवेदनशील समयमा अहोरात्र जनताको सेवामा खटिएका निर्वाचित जनप्रतिनिधिमाथि कार्यस्थलमै भएको आक्रमण अत्यन्तै निन्दनीय र दुःखद भएको विज्ञप्तिमा उल्लेख गर्नुभएको छ।
विज्ञप्तिमार्फत वडाध्यक्ष सुहाङले घटनाको सत्यतथ्य छानबिन गरी दोषीमाथि कानुन बमोजिम कडाभन्दा कडा कारबाही गर्न स्थानीय प्रशासनसँग माग गर्नुभएको छ। उहाँले नागरिकको जीउधनको रक्षाका लागि खटिने जनप्रतिनिधिमाथि हुने यस्ता हिंसात्मक व्यवहार कुनै पनि दृष्टिले स्वीकार्य नहुने स्पष्ट पार्नुभएको छ।


