इटहरी । मोरङ प्रहरीले विराटनगरका विवादास्पद व्यक्ति अभिषेक गिरीलाई पक्राउ गरेको छ।
जिल्ला कारागार मोरङका कैदीबन्दीलाई उपलब्ध गराइने रकम अनियमित रूपमा असुलेको आरोपमा शनिबार बिहान उनलाई विराटनगर महानगरपालिका–४ स्थित घरबाट नियन्त्रणमा लिइएको हो। जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक कबित कटवालले गिरीलाई कैदीबन्दीको भत्ता दुरुपयोग गरेको आरोपमा पक्राउ गरिएको पुष्टि गरे।
कारागारका कैदीबन्दीलाई प्राप्त हुने रकम उनले लिएको आरोप छ। यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक कटवालले बताए। प्रहरीका अनुसार गिरीको घरमा अवैध हतियार लुकाएर राखिएको भन्ने सूचनाका आधारमा शनिबार बिहानै विशेष टोली परिचालन गरी खानतलासीसमेत गरिएको थियो। यद्यपि खोजीका क्रममा हतियार बरामद भए–नभएकोबारे प्रहरीले औपचारिक जानकारी दिएको छैन।
शरीर बन्धक तथा अपहरणसम्बन्धी मुद्दामा कैद भुक्तानका क्रममा जिल्ला कारागार मोरङमा रहँदा गिरी चौकीदारको जिम्मेवारीमा थिए। कैद अवधि पूरा गरेर छुटेपछि पनि उनी कारागारको आन्तरिक गतिविधिमा प्रभाव कायम राखेको र कैदीबन्दीसँग आर्थिक लेनदेनमा संलग्न रहेको आरोप लाग्दै आएको थियो।
प्रहरीले गिरीमाथि लागेको आरोप, कारागारभित्र भएको भनिएको आर्थिक अनियमितता तथा त्यससँग जोडिएका अन्य पक्षबारे अनुसन्धान अघि बढाएको जनाएको छ। पछिल्लो समयमा उनी नेपाली कांग्रेसको राजनीतिमा सक्रिय देखिँदै आएका छन्।


