इटहरी । तेह्रथुमको लालीगुराँस नगरपालिकास्थित वसन्त माध्यमिक विद्यालयमा नगरस्तरीय अन्तर–माध्यमिक विद्यालय विज्ञान प्रदर्शनी कार्यक्रम सम्पन्न भएको छ ।
विद्यार्थीहरूमा वैज्ञानिक सोच, अनुसन्धान क्षमता तथा नवप्रवर्तनको भावना विकास गर्ने उद्देश्यले आयोजना गरिएको प्रदर्शनीमा नगरभित्रका सामुदायिक तथा संस्थागत विद्यालयहरूको उत्साहजनक सहभागिता रहेको थियो । प्रदर्शनीमा सार्वजनिक माध्यमिक विद्यालय, स्मारक माध्यमिक विद्यालय, तिनजुरे माध्यमिक विद्यालय, कृष्ण माध्यमिक विद्यालय, रत्न माध्यमिक विद्यालय, माउन्ट मकालु इङ्लिस बोर्डिङ स्कुल, वसन्त सदन इङ्लिस बोर्डिङ स्कुल तथा वसन्त माध्यमिक विद्यालयका विद्यार्थीहरूले आफ्ना सिर्जनशील परियोजना प्रस्तुत गरेका थिए ।
विद्यार्थीहरूले वातावरण संरक्षण, वैकल्पिक ऊर्जा, आधुनिक कृषि प्रविधि, सूचना तथा सञ्चार प्रविधि लगायतका विषयमा तयार पारेका वैज्ञानिक नमुना, आविष्कार र प्रयोगात्मक सामग्री प्रदर्शन गरेका थिए । उनीहरूले स्थानीय समस्या समाधानमा विज्ञान र प्रविधिको प्रयोग कसरी गर्न सकिन्छ भन्ने सन्देश समेत दिएका थिए । प्रदर्शनीमा राखिएका नमुनाले विद्यार्थीहरूको कल्पनाशीलता, अनुसन्धान क्षमता र व्यवहारिक ज्ञानलाई उजागर गरेका थिए ।
अवलोकनकर्ताले विद्यार्थीहरूको मेहनत, सीप र नवीन सोचको खुलेर प्रशंसा गरेका थिए । सहभागी शिक्षकहरूले यस्ता कार्यक्रमले विद्यार्थीहरूमा विज्ञानप्रतिको रुचि बढाउनुका साथै अनुसन्धान र नवप्रवर्तनको संस्कार विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन् ।


