इटहरी । कोशी राजमार्ग अन्तर्गत तेह्रथुम र धनकुटाको सिमा चित्रेस्थित स्थायी प्रहरी बिटमा चालक तथा सहचालकहरूको स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी बन्धना राईको संयोजकत्वमा आयोजित कार्यक्रममा बसन्तपुर, चित्रे, सिधुवा, हिले, धनकुटा, धरान हुँदै तराई झर्ने तथा तेह्रथुम–सङ्खुवासभा आवतजावत गर्ने सवारी साधनका चालक र सहचालकहरूको स्वास्थ्य परीक्षण गरिएको हो । लालीगुराँस नगरपालिकाको बसन्तपुर अस्पतालका चिकित्सकहरूको टोलीले सञ्चालन गरेको स्वास्थ्य परीक्षणमा चालक तथा सहचालकहरूको रक्तचाप, तौल तथा समग्र स्वास्थ्य अवस्था जाँच गर्नुका साथै लागुऔषध सेवन परीक्षण किट मार्फत समेत परीक्षण गरिएको थियो। सुरक्षा ड्यु
टीमा खटिएका प्रहरी, नेपाली सेना तथा सशस्त्र प्रहरीका सुरक्षाकर्मीहरूको पनि स्वास्थ्य परीक्षण गरिएको आयोजकले जनाएको छ । कार्यक्रममा कोशी प्रदेश सरकारका स्वास्थ्य मन्त्री मानबहादुर लिम्बु, जिल्ला प्रहरी कार्यालय तेह्रथुमका प्रमुख प्रहरी नायव उपरीक्षक लक्ष्मण ओली, इलाका प्रहरी कार्यालय बसन्तपुरका प्रमुख प्रहरी निरीक्षक रुपेश तामाङ, जिल्ला ट्राफिक प्रहरी कार्यालय तेह्रथुमका प्रमुख प्रहरी सहायक निरीक्षक कृष्णकुमार पण्डित, नेपाली सेना, सशस्त्र प्रहरी, स्थानीय जनप्रतिनिधि तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।
सडक दुर्घटना न्यूनीकरण, सुरक्षित यात्रा प्रवद्र्धन तथा चालकहरूको स्वास्थ्य अवस्था प्रति सचेतना अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको जनाइएको छ।


