इटहरी ।  मोरङका पाँच वटा क्रसर उद्योगमाथि राजस्व हिनामिनाको आशङ्कामा अनुसन्धान सुरु भएपछि पूर्वपश्चिम राजमार्ग विस्तारको काम प्रभावित भएको छ ।

दर्ताबिना सञ्चालन भएको र मापदण्डविपरीत रहेको भन्दै प्रशासनले उद्योग बन्द गरेपछि निर्माणाधीन काँकडभिट्टा–लौकही सडकखण्डमा कालोपत्रे गर्ने तयारी अवस्थामा पुगेको झन्डै २५ किलोमिटर क्षेत्रमा काम ठप्प भएको हो । जिल्ला अनुगमन समितिले मोरङका विभिन्न क्रसर उद्योगमा छापा मारी कागजपत्र जफत गरेपछि जिल्ला समन्वय समिति मोरङले पत्र लेखेरै आन्तरिक राजस्व कार्यालय विराटनगर र दमकले ती उद्योगमाथि अनुसन्धान गरिरहेका छन् । अनुसन्धानको दायरामा रहेका उद्योगले राजस्व छलेको आशङ्का अनुगमन समितिले गरेको हो । जिल्ला समन्वयको पत्रका आधारमा र प्राप्त बिल भर्पाई तथा खाताका आधारमा अध्ययन र अनुसन्धान गर्ने काम जारी रहेको आन्तरिक राजस्व कार्यालय विराटनगरका सूचना अधिकारी नवराज भट्टराईले जानकारी दिनुभयो ।

लेटाङ र मिक्लाजुङका दुईरदुई वटा क्रसर बन्द हुँदा सडक निर्माणका लागि आवश्यक पर्ने गिट्टी र ‘अस्फाल्ट’ को आपूर्ति पूर्ण रूपमा रोकिएको छ । अनुगमनका क्रममा लेटाङ–३ स्थित ओम श्री क्रसर उद्योग एन्ड सप्लायर्सले गिट्टी उत्पादन गर्ने उद्देश्य राखेर क्रसर चलाएको तर नवीकरण र वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) नगरेको पाइएको छ । सोही क्षेत्रको माँ भगवती स्टोन मिल्स त दर्ता र अनुमतिबिना नै सञ्चालनमा रहेको भेटिएको छ । यी दुवै उद्योगका सञ्चालक भीमबहादुर पौडेल उद्योग वाणिज्य महासङ्घ इटहरीको निवर्तमान अध्यक्ष हुनुहुन्छ । त्यस्तै बेलबारीको कान्तिपुर वासिङ उद्योगले बालुवा प्रशोधनको अनुमति लिएर क्रसर चलाएको पाइएपछि मेसिन नष्ट गरिएको छ । आवश्यक कागजात बुझाएपछि बालुवा प्रशोधन प्लान्ट भने सुचारु भएको जिल्ला समन्वय अधिकारी जानुका न्यौपानेले जानकारी दिनुभयो । क्रसरबाट भएको कारोबारको विषयमा आन्तरिक राजस्व कार्यालय विराटनगरले अनुसन्धान गरिरहेको उहाँले बताउनुभयो ।

  मिक्लाजुङको देवीथान कङ्क्रिट उद्योगले भ्याट बिल जारी गरे पनि कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता नै नभएको र अनुमतिबिना ढुङ्गा प्रशोधन गरेको पाइएको छ । आयोजनाकै लागि भनेर अनुमति पाएको श्री सिआरएफजी–टुन्डी जेभीले आयोजनाबाहिर सामग्री बिक्री गरेको आशङ्कामा अनुसन्धान भइरहेको छ । यी सबै उद्योगका बिल भर्पाई र खाता अहिले आन्तरिक राजस्व कार्यालय दमकले अध्ययन गरिरहेका छन् । क्रसर उद्योग करिब ५० दिनदेखि बन्द हुँदा एसियाली विकास बैङ्कको सहयोगमा निर्माणाधीन ९५।७६ किलोमिटर सडकको भौतिक प्रगति सुस्त भएको छ ।

प्याकेज–१ अन्तर्गत १५ किलोमिटर र प्याकेज–२ अन्तर्गत १० किलोमिटर सडक कालोपत्रेका लागि सबै तयारी पूरा भए पनि गिट्टी अभावले काम अघि बढ्न सकेको छैन । निर्माण व्यवसायी कालिका कन्स्ट्रक्सनका प्रतिनिधि उज्ज्वल प्रसाईंका अनुसार कम्पनीसँग ३० करोड रुपियाँ बराबरको अलकत्रा ९बिटुमिन० मौज्दात छ तर गिटी नहुँदा दैनिक आठ सय घनमिटर अस्फाल्ट उत्पादन रोकिएको छ । अर्कातर्फ, प्याकेज–२ को ठेक्का लिएको सिपिआइएफजीसँग भने अलकत्राको समेत अभाव रहेको बुझिएको छ । आयोजनाका प्रमुख सुनीलबाबु पन्तका अनुसार हालसम्म समग्र आयोजनाको भौतिक प्रगति २२ देखि २३ प्रतिशत मात्र छ ।

‘बेस कोर्स’ तयार भइसकेका सडकमा तत्काल कालोपत्रे नगरे वर्षायाममा ती सडक पुनः बिग्रने जोखिम बढेको छ । समस्या समाधानका लागि निर्माण व्यवसायीले दर्ता नभएका क्रसरलाई लिजमा लिएर चलाउने प्रस्ताव गरे पनि मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले कानुनी प्रक्रिया पूरा नगरी उद्योग चल्न नदिने अडान लिनुभएको छ । प्रजिअ कट्टेलले दर्ता प्रक्रिया र वातावरणीय मापदण्ड पूरा नगर्ने उद्योगलाई कुनै पनि बहानामा उन्मुक्ति नदिइने बताउनुभयो ।

राष्ट्रिय गौरवको आयोजना समयमै सम्पन्न गर्नुपर्ने दबाबका क्रसर उद्योगको बेथिति र राजस्व चुहावटको घटनाले राजमार्ग निर्माणमा निर्माण सामग्रीको अभाव सिर्जना हुँदा झन्डै दुई महिनादेखि निर्माण प्रभावित भएको छ ।