इटहरी । नेवाः देय दवू मोरङको आयोजनामा पुरोहित तालिम समापन तथा स्वागत–सम्मान कार्यक्रम २०८३ सम्पन्न भएको छ ।

नेवाः देय दवू मोरङका जिल्ला अध्यक्ष भाजु थर्कमान श्रेष्ठको अध्यक्षतामा आयोजित कार्यक्रममा नेवाः देय दवू केन्द्रीय उपाध्यक्ष नरेश शाक्य प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रममा नारायण श्रेष्ठ, भीमकला श्रेष्ठ, बिमला श्रेष्ठ, तारा श्रेष्ठ, , प्रदेश सल्लाहकार रबिन्द्र कृष्ण श्रेष्ठ लगायत विशिष्ट अतिथिहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा पुरोहित तालिम सफलतापूर्वक सम्पन्न गरेका नवगुरुहरूलाई स्वागत तथा सम्मान गरिएको थियो। नवगुरुहरूले नेवार समुदायको धार्मिक, सांस्कृतिक तथा परम्परागत संस्कार संरक्षण र प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गरिएको थियो ।

प्रमुख अतिथि नरेश शाक्यले नेवार समुदायको मौलिक संस्कृति, भाषा, परम्परा तथा धार्मिक संस्कारलाई जीवन्त राख्न पुरोहितहरूको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो। उहाँले संस्कृति संरक्षणका लागि नयाँ पुस्तालाई समेत जिम्मेवार र सक्रिय बनाउन आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो । कार्यक्रममा अतिथिहरूलाई नेवाः देय दवू मोरङका वरिष्ठ उपाध्यक्ष शैलेन्द्र श्रेष्ठले स्वागत मन्तव्यसहित स्वागत गर्नुभएको थियो । उहाँले संस्थाले समुदायको हित, संस्कृति संरक्षण तथा सामाजिक एकताका लागि निरन्तर रूपमा कार्य गर्दै आएको उल्लेख गर्नुभयो ।

कार्यक्रममा सहभागीहरूले पुरोहित तालिमले समुदायमा दक्ष तथा संस्कारसम्बन्धी ज्ञान भएका जनशक्ति उत्पादन गर्न महत्वपूर्ण योगदान पु¥याएको बताउँदै यस्ता कार्यक्रमलाई आगामी दिनमा थप प्रभावकारी रूपमा सञ्चालन गर्नुपर्नेमा जोड दिएका थिए । समुदायको सांस्कृतिक पहिचान संरक्षण र पुस्तान्तरणको सन्देशका साथ कार्यक्रम सम्पन्न भएको आयोजकले जनाएको छ ।