इटहरी । बथान समूहको आयोजनामा कोशी प्रदेश स्तरीय पर्सनालिटी डेभलपमेन्ट ट्रेनिङ कार्यक्रम इटहरीस्थित होटल सोल्टी वेस्टर्नमा सुरु भएको छ। कला तथा नृत्य क्षेत्रसँग आबद्ध व्यक्तिहरूको व्यक्तित्व विकास, नेतृत्व क्षमता अभिवृद्धि तथा पेशागत दक्षता वृद्धि गर्ने उद्देश्यले आयोजित कार्यक्रममा कोशी प्रदेशका झापा, मोरङ र सुनसरीसहित विभिन्न जिल्लाबाट आएका नृत्य प्रशिक्षकहरूको उल्लेखनीय सहभागिता रहेको आयोजकले बताएका छन्।

बथान समूहका प्रमुख इन्द्रजित मगरको नेतृत्व तथा कार्यक्रम संयोजक लक्ष्मी समालको संयोजनमा सम्पन्न तालिममा सहभागीहरूलाई व्यक्तित्व विकास, प्रभावकारी सञ्चार कला, नेतृत्व विकास, आत्मविश्वास वृद्धि, समय व्यवस्थापन, सार्वजनिक प्रस्तुतीकरण तथा पेशागत व्यवहारका विविध विषयमा प्रशिक्षण प्रदान गरिएको छ।

IMG20260614135227

कार्यक्रममा वरिष्ठ नाट्यकर्मी सोनु जयन्ती र नृत्य निर्देशक राजु गिरीले प्रशिक्षण दिँदै कला क्षेत्रका व्यक्तिहरूले बदलिँदो समयसँगै आफ्नो क्षमता, व्यवहार र व्यक्तित्वलाई समेत परिष्कृत गर्दै लैजानुपर्ने आवश्यकता औँल्याउनुभयो । नाट्यकर्मी सोनु जयन्तीले कलाकार तथा प्रशिक्षकहरू केवल सिर्जनात्मक व्यक्तित्व मात्र नभई समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने अगुवाको भूमिकामा रहने भएकाले व्यक्तित्व विकासलाई विशेष महत्व दिनुपर्ने बताए।

तालिममा अन्तरक्रियात्मक छलफल, समूहगत अभ्यास तथा अनुभव आदानप्रदानका माध्यमबाट सहभागीहरूलाई व्यवहारिक ज्ञान प्रदान गरिएको थियो। सहभागीहरूले यस्ता कार्यक्रमले आफ्नो पेशागत दक्षता अभिवृद्धि गर्नुका साथै नेतृत्व क्षमता विकास गर्न महत्वपूर्ण सहयोग पुग्ने विश्वास लिएको बताएका छन्।

आयोजकका अनुसार कला, संस्कृति तथा नृत्य क्षेत्रसँग आबद्ध व्यक्तिहरूलाई समयानुकूल सीप, ज्ञान र नेतृत्व क्षमता प्रदान गर्ने उद्देश्यले यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिइनेछ। कार्यक्रमले कोशी प्रदेशका नृत्य प्रशिक्षकहरूबीच आपसी सम्बन्ध विस्तार, सहकार्य प्रवर्द्धन तथा कला क्षेत्रको समग्र विकासमा सकारात्मक योगदान पुर्‍याउने विश्वास व्यक्त गरिएको छ।