इटहरी । १३औँ विश्व रक्तदाता दिवस तथा अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा सुनसरीका विभिन्न जुनियर तथा सिनियर जेसिज शाखाहरूको संयुक्त आयोजनामा आइतबार इटहरीमा बृहत् रक्तदान शिविर सम्पन्न भएको छ ।

संयुक्त रूपमा आयोजित रक्तदान कार्यक्रममा ५१ पिन्ट रगत संकलन गरिएको आयोजकले जनाएको छ। इटहरी लेडी जेसिजकी अध्यक्ष यमुना बुढाथोकीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा समाजका विभिन्न क्षेत्रका सक्रिय व्यक्तित्वहरूलाई कदरपत्रसहित सम्मान गरिएको थियो। साथै ६६औँ पटक रक्तदान गर्ने योगेन्द्र खड्कालाई विशेष सम्मान गरिएको थियो । इटहरी उपमहानगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष जितेन्द्र थापा प्रमुख अतिथिका रूपमा सहभागी रहेको कार्यक्रममा जेसिज पदाधिकारी, प्रहरी प्रशासनका प्रतिनिधि, स्थानीय राजनीतिकर्मी, जनप्रतिनिधि तथा सर्वसाधारणले रक्तदान गरेका थिए ।

2

कार्यक्रमको उद्देश्य सुरक्षित रगत तथा रगतजन्य पदार्थको आवश्यकताबारे जनचेतना अभिवृद्धि गर्नुका साथै निःशुल्क र स्वेच्छिक रूपमा रक्तदान गर्ने रक्तदाताप्रति सम्मान व्यक्त गर्नु रहेको पतञ्जलि योगपीठ नेपाल सुनसरीकी अध्यक्ष उर्मिला कटुवालले बताउनुभयो ।

कार्यक्रमलाई नेपाल रेडक्रस सोसाइटी सुनसरी रक्तसञ्चार सेवा केन्द्र, धरानले प्राविधिक सहयोग तथा सहजीकरण गरेको थियो। आयोजकका अनुसार यस्ता कार्यक्रमले रक्तदानप्रति सकारात्मक सन्देश प्रवाह गर्नुका साथै आवश्यक रगतको आपूर्ति व्यवस्थापनमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास लिइएको छ ।