इटहरी/ आन्तरिक मामिला तथा कानुन मन्त्रालय, कोशी प्रदेशले इटहरीमा यातायात व्यवसायी तथा सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।
मन्त्रालयका सचिव कृष्णप्रसाद सापकोटाको अध्यक्षता तथा आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणि पराजुलीको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा सुनसरी, मोरङ र झापाका यातायात व्यवसायी, मजदुर संघ–संगठनका प्रतिनिधि, प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दीपक गिरी, स्वतन्त्र मजदुर संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राई तथा यातायात कार्यालयका प्रमुखहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा सहभागीहरूले यातायात क्षेत्रका वर्तमान समस्या, सडक सुरक्षा, ट्राफिक व्यवस्थापन, श्रमिक हकहित तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउने विषयमा सुझाव राखेका थिए। मन्त्री पराजुलीले यातायात क्षेत्र प्रदेशको आर्थिक तथा सामाजिक विकाससँग प्रत्यक्ष जोडिएको उल्लेख गर्दै व्यवसायी र श्रमिकका समस्याको समाधानका लागि प्रदेश सरकार गम्भीर रहेको बताउनुभयो।
उहाँले सरोकारवालाबाट प्राप्त सुझावलाई नीतिगत तथा कार्यान्वयन तहमा समेटेर यातायात क्षेत्रलाई व्यवस्थित, सुरक्षित र सेवामुखी बनाउन आवश्यक पहल गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रममा सहभागीहरूले सरकार र सरोकारवालाबीच नियमित संवाद र सहकार्य आवश्यक रहेको धारणा व्यक्त गरेका थिए।

