इटहरी । मोरङको पथरी शनिश्चरेमा दुई दिवसीय शहिद रत्न कुमार बान्तवा राष्ट्रव्यापी खुल्ला फिडे रेटेड रेपिड चेस प्रतियोगिता सुरु भएको छ ।

आजदेखि पथरी शनिश्चरेस्थित सीन भिलेज पार्टी प्यालेसमा ‘सृजनशील र स्वास्थ्य दिमागका लागि बुद्धिचाल, शहिद रत्न कुमार बान्तवाको सम्झनामा समर्पित’ भन्ने नारा सहित प्रतियोगिता सुरु भएको हो। प्रतियोगिताको प्रथम पुरस्कार पाँचौँ मिस्टर काठमाडौंका विजेता स्वर्गीय प्रकाश राईको स्मृतिमा स्थापित प्रकाश राई स्मृति प्रतिष्ठानले प्रायोजन गरेको छ ।

पथरी उद्योग वाणिज्य सङ्घका महासचिव अशोककुमार राईको प्रमुख आतिथ्यता तथा फ्रेण्ड सिप चेस क्लब पथरी शनिश्चरेका अध्यक्ष धनराज राई अमिरको अध्यक्षतामा आयोजित उद्घाटन कार्यक्रममा स्वर्गीय प्रकाश राई स्मृति कोषका संयोजक तथा शिक्षासेवी प्रदीप कुमार राईले प्रतियोगिताको सफलताको शुभकामना व्यक्त गर्नुभयो।

प्रतियोगितामा पूर्व नेपाल च्याम्पियन नवीन टण्डुकार, राजेन्द्र चौलागाईं सहित काठमाडौं, बुटवल, धनगढी, चितवन, झापा, मोरङ, सुनसरी, इलाम, पाँचथर, ताप्लेजुङ, धनकुटा र भोजपुर लगायत विभिन्न जिल्लाका खेलाडीहरूको सहभागिता रहेको छ। दुई दिनसम्म सञ्चालन हुने प्रतियोगितामा देशका विभिन्न क्षेत्रका उत्कृष्ट बुद्धिचाल खेलाडीहरूबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।