इटहरी । नेपाली कांग्रेस सुन्दरहरैंचाले सांगठनिक सुदृढीकरण र पार्टी विस्तार अभियानलाई तीव्र बनाउँदै वडा नं. १ र १२ को आयोजनामा वडास्तरीय भेटघाट तथा संगठनात्मक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रममा नेपाली कांग्रेस मोरङ्ग क्षेत्र नं ६ का सभापति देवराज तामाङका साथै नेपाली कांग्रेस मोरङ्ग जिल्लाका सचिव ललितबहादुर श्रेष्ठ, नेपाली कांग्रेस महासमिति सदस्य लोकप्रसाद संग्रौला, नेपाली कांग्रेस सुन्दर हरैंचाका सभापति भक्तिप्रसाद सिटौला लगायतका नेताहरूको उपस्थिति रहेको थियो । वडा समितिको आयोजनामा सम्पन्न कार्यक्रममा स्थानीय तहमा पार्टीको उपस्थिति, आगामी कार्यदिशा, संगठन विस्तार तथा जनचासोका विषयमा गहन छलफल गरिएको थियो।

कार्यक्रममा नेपाली कांग्रेस मोरङ क्षेत्र नं. ६ का क्षेत्रीय सभापति देवराज तामाङले पार्टीको मुख्य शक्ति नै ग्रासरुट (तल्लो तह) का कार्यकर्ता र शुभेच्छुकहरू भएको बताउनुभयो । उहाँले जनताका स्थानीय समस्यासँग पार्टी प्रत्यक्ष रूपमा जोडिनुपर्ने र वडा तहदेखि नै पार्टीका गतिविधि पारदर्शी तथा जनमुखी हुनुपर्नेमा जोड दिनुभयो । उपस्थित नेता तथा कार्यकर्ताहरूले क्षेत्रीय सभापति तामाङको मार्गदर्शनले पार्टी काममा थप ऊर्जा थपेको बताउँदै आगामी दिनमा वडा कमिटीलाई अझ सक्रिय र प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरेका छन् ।

पञ्चायनमा आयोजित उक्त अन्तरक्रिया कार्यक्रममा सुन्दरहरैंचा वडा नं. १ का पार्टी सभापति, क्षेत्रीय प्रतिनिधिहरू, भातृ तथा शुभेच्छुक संस्थाका पदाधिकारीहरू, साथै ठूलो संख्यामा स्थानीय क्रियाशील सदस्य एवं पार्टीप्रति आस्थावान शुभेच्छुकहरूको उपस्थिति रहेको थियो।