इटहरी । चौँतिस वर्षको प्रतीक्षापछि मोरङको रतुवामाई नगरपालिका–३ स्थित मिर्चाडाँगी गाउँलाई पिँढाली बजारसँग जोड्ने रतुवाखोलामा झोलुङ्गे पुल बनेको छ । 

मिर्चाडाँगी र पिँढालीका बासिन्दाले ३४ वर्षदेखि रतुवाखोलामा झोलुङ्गे पुल बनाउन माग गर्दै आएका थिए । वारिपारिका दुई गाउँ जोड्ने झोलुङ्गे पुल नहुँदा पुलपारिका बासिन्दा वर्षायाममा भारत हुँदै वडा र नगरपालिका कार्यालय आउने जाने गर्थे । सहरी विकास मन्त्रालय अन्तर्गत स्थानीय पूर्वाधार विकास विभागले ‘मिर्चाडाँगी–महादेवा मल्टिस्प्यान ट्रेल ब्रिज’ निर्माण गर्न थानी निर्माण सेवालाई ठेक्का दिएको थियो । ७४७ मिटर लम्बाइको झोलुङ्गे पुल भ्याटसहित १९ करोड ८२ लाख ४४ हजार ६६२ रुपियाँमा निर्माण सम्पन्न भएको हो ।

सम्झौता अनुसार दुई वर्षमा पुल निर्माण गरिसक्नुपर्ने थियो । २०८२ असार ११ गते भएको सम्झौतामा २०८४ असार १० गते निर्माण सम्पन्न गर्नुपर्ने उल्लेख भए पनि  करिब १३ महिनाअगावै निर्माण सम्पन्न भएको निर्माण कम्पनीका प्रतिनिधि लोकबहादुर बस्नेतले बताउनुभयो । नेपाल–भारत सीमासँग जोडिएको मिर्चाडाँगीको पश्चिम र उत्तरतर्फ मात्र नेपाल पर्छ । पुल नहुँदा वर्षायाममा रतुवाखोलामा आउने बाढीका कारण स्थानीयले ज्यान जोखिममा पारेर आवतजावत गर्नुपर्ने अवस्था थियो । पुल नहुँदा मिर्चाडाँगीका बालबालिकाले झन् ठुलो सास्ती झेल्दै आएका थिए । मिर्चाडाँगीमा कक्षा ३ सम्म मात्र पढाइ हुने भएकाले कक्षा ४ देखि माथिका कक्षा पढ्न रतुवाखोला पश्चिमको पिँढाली पुग्नु पर्छ । बाढी आउने दुई महिना विद्यालय जानै नसकिने अवस्था हुन्छ ।

  विद्यार्थीलाई दैनिक डेढ किलोमिटरभन्दा बढी  बगर, धुलो र हिलो पार गर्दै विद्यालय जान समस्या हुने गरेको निशाकुमारी हरिजनले बताउनुभयो । उहाँका अनुसार हुनेखानेका छोरीछोरी पिँढालीमै बसेर पढ्छन् तर गरिबले धुलो, हिलो र घामको सास्ती सहँदै विद्यालय धाउनु पर्छ ।  रतुवाखोला र भारततर्फको सीमाले घेरिएको यो बस्ती बर्खाको समयमा नेपालसँग सम्पर्कविहीन हुने गरेको थियो । वर्षायाममा बिरामीलाई उपचार गर्न लैजान भारतको किसनगन्ज जिल्लाको फूलबारी पुगेर पैकटोल हुँदै फेरि नेपालको डोरियाबाट झुर्किया हुँदै विराटनगर जाने गरिन्थ्यो ।

साबिक महादेवा गाविस हाल रतुवामाई नगरपालिकाको वडा नं। ३ भएको छ । वडाध्यक्ष देवीलाल ताजपुरियाका अनुसार मिर्चाडाँगीमा डेढ सय घरधुरी छन् । गणतन्त्रपछिका जनप्रतिनिधिले बिजुलीसम्म पु¥याएका छन् । डेढ सयमध्ये १३ परिवार हरिजन (दलित) छन् । झोलुङ्गे पुल निर्माण सम्पन्न भएपछि मिर्चाडाँगीका बासिन्दाको दशकौँदेखिको पीडा अन्त्य भएको भन्दै सन्तोष व्यक्त गरेका छन् ।