इटहरी । मोरङको मिक्लाजुङ गाउँपालिका–९ स्थित मधुमल्ला अस्पतालमा आँखा उपचार सेवा औपचारिक रूपमा सञ्चालनमा आएको छ ।

मंगलबारदेखि तिलगंगा आँखा अस्पताल काठमाडौंको व्यवस्थापन तथा रामलाल गोल्छा आँखा अस्पताल अस्पताल विराटनगरको सहकार्यमा सेवा सुरु गरिएको हो । सेवा शुभारम्भको अवसरमा आयोजित शिविरमा १५० जनाको आँखा परीक्षण (स्क्रिनिङ) गरिएको तथा २२ जनाको मोतियाबिन्दुको सफल शल्यक्रिया गरिएको मधुमल्ला अस्पतालका प्रमुख भुपेन्द्र अधिकारीले जानकारी दिनुभयो । सुरु गरिएको आँखा उपचार सेवाको अनुगमन तथा निरीक्षण वरिष्ठ नेत्र रोग विशेषज्ञ डा. सन्दुक रुइत ले गर्नुभएको थियो ।

WhatsApp Image 2026-05-16 at 5.41.50 PM


कार्यक्रममा बोल्दै रामलाल गोल्छा आँखा अस्पतालका श्याम पौडेलले मिक्लाजुङ गाउँपालिकाले नागरिकको स्वास्थ्यलाई प्राथमिकतामा राख्दै महत्वपूर्ण तथा पुण्यको कार्य गरेको बताउदै सेवाले स्थानीय नागरिकलाई गुणस्तरीय आँखा उपचार उपलब्ध गराउने जानकारी दिनुभयो । कार्यक्रममा मिक्लाजुङ गाउँपालिका अध्यक्ष बवीकुमार राईले लामो प्रयासपछि मधुमल्ला अस्पतालमै विशेषज्ञ आँखा सेवा सुरु गर्न सफल भएको भन्दै खुसी व्यक्त गर्नुभयो ।

उहाँका अनुसार सेवामार्फत आगामी दिनमा गाउँपालिकाबासीको स्वास्थ्य सेवामा थप सुविधा विस्तार गर्ने लक्ष्य रहेको छ । कार्यक्रममा मिक्लाजुङ गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत तेजेन्द्र गौतम, वडा नं. ७ का वडाध्यक्ष शुशिलराज चौहान,स्थानियवासी लगायतको बाक्लो उपस्थिति रहेको थियो ।

गाउँमै आँखा परीक्षण तथा शल्यक्रिया सेवा उपलब्ध भएपछि समय र खर्च दुवै बचत भएको सेवाग्राहीले बताएका छन् ।