इटहरी । उद्योगीहरूले वर्तमान श्रम बजारको आवश्यकतालाई सम्बोधन गर्न सरकार र शैक्षिक क्षेत्रले उद्योगको माग अनुसारको पाठ्यक्रम तयार पार्नुपर्ने सुझाव दिएका छन् ।
मोरङको सुन्दरहरैंचामा आयोजित ‘सि।आई।एम। नेपाल मानव संसाधन सम्मेलन २०२६’ को दोस्रो संस्करणको उद्घाटन सत्रमा सहभागी उद्योगी तथा विज्ञहरूले यस्तो धारणा राखेका हुन् । उद्योग संगठन मोरङद्वारा आयोजित दुई दिने सम्मेलनको उद्घाटन गर्दै कोशी प्रदेशका सामाजिक विकास मन्त्री रामप्रसाद महतोले आर्थिक र औद्योगिक विकासका लागि सक्षम र उत्तरदायी मानव संसाधनको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । उहाँले सरकार शिक्षा, सीप र उद्योगबिचको समन्वय सुदृढ गर्दै युवालाई रोजगारीसँग जोड्न प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो ।
कार्यक्रममा उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठीले उद्योग र श्रम बजारबीचको दूरी घटाउनुपर्नेमा जोड दिनुभयो । सम्मेलनमा सहभागी उद्योगीहरूले सरकारलाई नीतिगत तहबाटै शैक्षिक संस्थाहरूको पाठ्यक्रम परिमार्जन गरी प्रयोगात्मक र बजारमुखी बनाउन आग्रह गरे । उनीहरूले शैक्षिक क्षेत्र र उद्योगबिच समन्वय गरी इन्टर्नशिप, प्रयोगात्मक तालिम र अनुसन्धानमा सहकार्य गर्नुपर्ने आवश्यकता औंल्याएका छन् । नेपाल उद्योग परिसंघ कोशीका अध्यक्ष पवन सारडाले प्रविधिगत परिवर्तनको यो युगमा मानव संसाधन व्यवस्थापनलाई रणनीतिक रूपमा अगाडि बढाउनुपर्ने र निजी क्षेत्रले सीप विकासमा थप लगानी गर्नुपर्ने धारणा राख्नुभयो ।
त्यस्तै, पूर्वाञ्चल विश्वविद्यालयका प्राध्यापक डा। बिजु थपलियाले व्यवहारिक तथा बजारमुखी शिक्षा प्रणाली विकास गर्नुपर्नेमा जोड दिनुभयो । स्विस सरकारको प्राविधिक सहयोगमा सञ्चालित सम्मेलनमा सुनसरी–मोरङ औद्योगिक करिडोरका १५० भन्दा बढी सञ्चालक, व्यवस्थापक र मानव संसाधन प्रमुखहरूको सहभागिता छ । आज शनिबारसम्म चल्ने सम्मेलनमा विभिन्न १० वटा सत्रमा विज्ञहरूले डिजिटल एचआर प्रणाली, कर्मचारी स्थायित्व र औद्योगिक विकासमा मानव संसाधनको भूमिकाबारे अनुभव आदानप्रदान गर्नेछन् । सन २०२४ मा पहिलो पटक सुरु गरिएको यो सम्मेलनले मानव संसाधनलाई औद्योगिक रूपान्तरणको प्रमुख आधारका रूपमा स्थापित गर्ने लक्ष्य लिएको छ ।


