इटहरी । मोरङको पथरी शनिश्चरे नगरपालिकामा एक १९ वर्षीया युवतीको शंकास्पद अवस्थामा मृत्यु भएपछि स्थानीय आक्रोशमा छन्, त्यहाँको वातावरण तनावग्रस्त बनेको छ ।
पथरी शनिश्चरे नगरपालिका वडा नम्बर ९ कुशे निवासी १९ वर्षीया माया वनेम लिम्बूको आफ्नै घरमा शंकास्पद मृत्यु भएको हो। घटनाको प्रकृति र मृतकको शरीरमा देखिएको नीलडामका कारण माइती पक्षले हत्याको आशंका गर्दै न्यायका लागि प्रदर्शन गरेपछि स्थिति तनावपूर्ण बनेको छ । २०८३ साल वैशाख ९ गते पथरी शनिश्चरे ४, पानीटङ्की नजिकै रहेको घरमा माया वनेम मृत अवस्थामा फेला परेकी थिइन्। मृतकको शरीरभरि नीलडाम र चोटपटक देखिएकाले उनको मृत्यु स्वाभाविक नभएको माइती पक्षको दाबी छ ।
मायाको शरीरमा देखिएको चोटपटकले यो सामान्य मृत्यु होइन भन्ने प्रष्ट पार्छ । हामीलाई पूर्ण न्याय चाहिन्छ र दोषीलाई कडा कारबाही हुनुपर्छ भन्दै मृतकका आफन्तले आक्रोश पोखेका छन्। माया वनेम र देब खाती बीच करिब ६ महिना अघि मात्र अन्तरजातीय भागी विवाह भएको थियो। विवाहको छोटो समयमै यसरी शंकास्पद मृत्यु हुनुले घटनालाई थप रहस्यमयी बनाएको स्थानीयको बुझाइ छ ।
घटनापछि पीडित पक्षबाट उत्पन्न तनाव र दबाबका बीच इलाका प्रहरी कार्यालय पथरीले अनुसन्धानका लागि तीन जनालाई नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिइनेहरूमा मृतकका श्रीमान् देब खाती र मृतकका सासू र ससुरा रहेका छन् । प्रहरीले उनीहरूलाई हिरासतमा राखी सोधपुछ र अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ । स्थानीय बासी र मृतकका आफन्तले प्रहरी प्रशासनलाई कुनै पनि राजनीतिक वा बाह्य दबाबमा नपरी निष्पक्ष छानबिन गर्न आग्रह गरेका छन्।
घटनाको गहिराइमा पुगेर सत्यतथ्य सार्वजनिक गर्न र दोषी ठहरिएमा कानुन बमोजिम कडा भन्दा कडा सजाय सुनिश्चित गर्न माइती पक्षले माग राखेको छ । अहिले मृतकको शव परीक्षणका लागि अस्पताल पठाइएको र रिपोर्ट आएपछि मृत्युको वास्तविक कारण खुल्ने प्रहरीले जनाएको छ । प्रशासनले शान्ति कायम राख्न र कानुनी प्रक्रियामा सहयोग गर्न सबैमा अपिल समेत गरेको छ ।


