इटहरी । मानवीय संवेदनालाई नै चुनौती दिने गरी सुनसरीमा एउटा विभत्स घटना सार्वजनिक भएको छ ।
भोक्राहा नरसिंह गाउँपालिका वडा नं. ८ का ५५ वर्षीय उमर मियाँले आफ्नै ३० वर्षीय छोरा सदरुल मियाँलाई भारतीय अपहरणकारीको जिम्मा लगाएको सनसनीपूर्ण रहस्य खुलेको छ। घटनाको बीभत्स रूपः प्राप्त जानकारी अनुसार, भुटाहाबाट तरकारी किनेर फर्किँदै गर्दा बाबु उमर मियाँले आफ्नै छोरालाई पुल नजिकैबाट अपहरणकारीको समूहलाई सुम्पिएका थिए । अझै डरलाग्दो कुरा त के छ भने, छोरालाई प्रतिकार गर्न नसक्ने गरी बोरामा हालेर प्याक गरिएको अवस्थामा भारततर्फ कटाउन लागिएको थियो।
रगतको नातालाई पैसा वा कुनै स्वार्थका लागि ’सुपारी’ दिएर आफ्नै सन्तानको सौदाबाजी गर्ने बाबुको यो हर्कतले यतिबेला जिल्लाभरि नै आक्रोश पैदा गरेको छ। अपहरणकारीहरूले बोरामा बाँधेर सदरुललाई भारतको बिहारस्थित सुपौल जिल्लाको करजाना थाना पु¥याएका थिए । तर, भारतीय प्रहरीको विशेष सक्रियताका कारण उनलाई मृत्युको मुखबाट उद्धार गर्न सफल भएको छ। भारतीय सुरक्षा निकायले घटनाको गम्भीरतालाई हेर्दै तत्कालै जिल्ला प्रहरी कार्यालय सुनसरीलाई खबर गरेको थियो ।
यो घटना केवल बाबुको एकल योजना मात्र नभएको हुनसक्ने देखिएको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीले बाबु उमर मियाँसहित आमा र अर्का एक भाइलाई समेत नियन्त्रणमा लिएको छ। परिवारका सदस्यहरू नै मिलेर आफ्नै रगतको सम्बन्धलाई सिध्याउन भारतीय अपराधीहरूको प्रयोग गर्नुले सुरक्षा चुनौती र सामाजिक नैतिकतामाथि ठूलो प्रश्न चिह्न खडा गरेको छ ।
आफ्नै छोरालाई बोरामा बाँधेर भारतीय अपराधीलाई बुझाउनुको मुख्य कारण के थियो? प्रहरीले यसबारे गम्भीर अनुसन्धान भइरहेको र अपराधीहरूलाई कुनै पनि हालतमा नछाडिने बताएको छ ।


