इटहरी । इटहरी उपमहानगरपालिकाले लामखुट्टे नियन्त्रणका नाममा प्रयोग हुँदै आएका अल्फासाइपरमेथ्रिन र अल्फामेथ्रिन र मालाथिनजस्ता विषादी प्रयोग गरी फगिङ ९धुवा उडाउने० कार्य नगर्ने निर्णय गरेको जनाएको छ।
उपमहानगरले प्रेस विज्ञप्ति जारी गर्दै यस्ता विषादी तथा पेट्रोलियम पदार्थको धुवाँ जनस्वास्थ्यका हिसाबले उपयुक्त नरहेको भन्दै तत्काल यस्तो कार्य नगर्ने स्पष्ट पारेको हो। कार्यवाहक नगर प्रमुख संगीता कुमारी चौधरी द्वारा जारी विज्ञप्तिमा अत्यधिक गर्मीका कारण लामखुट्टेको प्रकोप बढ्न सक्ने भन्दै नागरिकलाई सचेत रहन आग्रह गरिएको छ। विशेषगरी घर बाहिर निस्कँदा सम्भव भएसम्म पूरै शरीर ढाकिने लुगा लगाउने, सुत्दा झुलको प्रयोग गर्ने, घर वरपर पानी जम्न नदिने, नाला तथा खाल्डाखुल्डी सफा राख्ने र वातावरणीय सरसफाइमा ध्यान दिन अनुरोध गरिएको छ।
उपमहानगरले विज्ञप्तिमा विशेषज्ञहरूको सुझावअनुसार विषादीयुक्त फगिङ जनस्वास्थ्यका लागि दीर्घकालीन रूपमा हानिकारक हुन सक्ने उल्लेख गर्दै त्यसको सट्टा सुरक्षित र प्रभावकारी वैकल्पिक किटनाशक औषधिको व्यवस्था गर्न नेपाल सरकार र प्रदेश सरकारसँग मागसमेत गरेको जनाएको छ। विज्ञप्तिमा अल्फासाइपरमेथ्रिनरअल्फामेथ्रिन र मालाथिनजस्ता विषादी व्यक्तिले आफूखुसी प्रयोग गरे त्यसबाट उत्पन्न हुन सक्ने प्रतिकूल परिस्थितिको जिम्मेवारी सम्बन्धित व्यक्ति, अभियन्ता, संघसंस्था वा समूह स्वयंले लिनुपर्ने चेतावनीसमेत दिइएको छ।
लामखुट्टेबाट सर्न सक्ने डेंगु लगायतका रोगको जोखिम बढिरहेका बेला उपमहानगरको यो निर्णयले फगिङको प्रभावकारिता र विषादी प्रयोगबारे नयाँ बहस सुरु गरेको छ। अब स्थानीय तहले माथिल्लो तहमा माग गरेको वैकल्पिक उपाय कहिले उपलब्ध हुन्छ र लामखुट्टे नियन्त्रण कसरी प्रभावकारी बनाइन्छ भन्ने चासो बढेको छ।


