इटहरी।  विसं २०५० मा हरिबहादुर तामाङले पसल सुरु गर्दा इलामको फिक्कल बजार अहिलेजस्तो भीडभाड थिएन । साँघुरो सडक, पातलो बस्ती, साना घरहरु थिए । 

उहाँ सूर्योदय नगरपालिका–१० स्थित फिक्कल बजारमा तीन दशक यता निरन्तर मिठाई पसल सञ्चालन गर्दै आउनुभएको छ । स्वदेशमा परिश्रम गरिरहनुभएका तामाङले मिठाई बेचेर खुसी कमाइरहेको बताउनुहुन्छ । पचासदेखि ०५८ सालसम्म उहाँको व्यापार फस्टायो । सोही अवधि तराईमा घर किन्नुभयो । फिक्कल नजिकै नयाँचोकमा तीन ठाउँ जमिन जोड्नुभयो ।

दुई जना छोरीलाई पढाएर अमेरिका र अस्ट्रेलिया पठाउने यही व्यापारले गर्यो । कान्छी छोरीलाई काठमाडौँ राखेर चार्टर एकाउन्टेन्ड र बिएबीएस पढाउने खर्च पनि यसै पसलले धानिरहेको छ ।अहिले पनि उहाँको पसल(जनता मिष्ठान्न भण्डार)उत्तिकै चलेको छ । तर, त्यो बेलामा जस्तो नाफा हुँदैन । उहाँको इमानदार सोच र निरन्तर श्रमले तीन छोरीको भविष्य बनायो ।छोरीहरूको पढाइका लागि उहाँले बिर्तामोडमा बनाएको घर बिक्री गरेको बताउनुभयो ।समयसँगै व्यापारको स्वरूप फेरियो । पहिले फिक्कलस्थित पशुपतिनगर स्टेनमा रहेको त्यही पसल फिक्कल बजारको इलाम स्टेन मुनितिर सरेको २० वर्ष भयो ।

खाजाको मूल्य रु पाँचबाट बढेर रु १५० पुगेको छ । समोसा, सेलरोटी, पुरीदेखि लड्डु, खुर्मा, रसबरी, जेरी र भुजियासम्मका परिकार पाइने पसलमा अहिले दुई जना कर्मचारी छन् । वि.सं २०४२ तिर उहाँ झापाको काँकडभिट्टामा रिक्सा चलाउनुहुन्थ्यो । छ सय मजदुरको विश्वास जित्दै रिक्सा सङ्घको कोषाध्यक्ष बन्नुभएको थियो । पछि केही समय होटलमा पनि काम गरेर मिठाई पसल सुरु गरेको उहाँ बताउनुहुन्छ । आज पनि उहाँ पसलमै व्यस्त हुनुहुन्छ । उमेर ढल्किँदै गए पनि कामप्रतिको लगाव उस्तै छ । ऐतिहासिक गोर्खे बजार त्यो बेलाको व्यापारिक केन्द्र थियो । त्यहाँबाट सामान खरिद बिक्री गर्न भारी बोकेर आउजाउ गर्नुपथ्र्यो ।