इटहरी । विराटनगर विमानस्थलबाट काठमाडौँ जाँदै गरेको अवस्थामा करिब ३३ तोला चाँदीसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक लिलाराज लामिछानेका अनुसार चाँदी बोकेर विमानस्थलको मार्ग हुँदै काठमाडौँ जान लागेका विराटनगर–१ का ४४ वर्षीय आशिष रिजाललाई पक्राउ गरिएको हो। विमानस्थलमा नियमित चेकजाँचका क्रममा रिजाललाई पक्राउ गरेको विमानस्थलका प्रहरी नायब निरीक्षक राजेन्द्र तिम्सिनाले जानकारी दिए।उनका अनुसार मंगलबारको बजार मूल्यअनुसार बरामद भएको चाँदी एक लाख ७० हजार रुपैयाँभन्दा बढीको छ।
बिलबिजक वा वैध कागजात नभेटिएपछि प्रहरीले रिजाललाई पक्राउ गरेको जानकारी प्रहरी नायब उपरीक्षक लामिछानेले बताए। पक्राउ परेका रिजाल अपराह्न साढे ३ बजेको श्री एयरलाइन्समार्फत काठमाडौँ जान लागेका थिए। पक्राउ परेका रिजाललाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय मोरङमा राखिएको छ।


