काठमाडौँ । काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन् । अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई पक्राउ गरेको हो ।
रिजालमाथि गत भदौ २३ र २४ गते भएको ‘जेनजी’ आन्दोलनमा दमन गरेको आरोप छ । आन्दोलनमा दमन गरेको भन्दै गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले कारबाहीका लागि सिफारिस गरेको थियो । यसअघि सोही सिफारिसका आधारमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परिसकेका छन् ।
यता, काठमाडौंका तत्कालीन सीडीओ रिजालले जेनजी आन्दोलनमा आफूले घुँडाभन्दा तल लक्षित रबरको गोली चलाउने मौखिक आदेश दिएको तर सिधै गोली चलाउने आदेश भने नदिएको बताएका छन् । जाँचबुझ आयोगसमक्ष रिजालले दिएको बयानमा आफूले अन्तिम बल अर्थात् सिधै गोली चलाउने आदेश नदिएको उल्लेख गरेका हुन् ।
तत्कालीन गृहमन्त्री लेखकका निकट मानिने रिजालमाथि प्रशासन महाशाखा प्रमुख रहँदा कर्मचारी सरुवामा ‘पेशागत आचरण विपरीत’ काम गरेको र भ्रष्टाचार गरेको आरोपमा समेत अनुसन्धान भइरहेको छ ।


