इटहरी स् सुनसरीको इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलस्थित एक घरबाट प्रहरीले ९१५ किलोभन्दा बढी गाँजासहित चार जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार शनिबार राति हनुमान मन्दिर नजिक बुलबुल यादवको घरमा गाँजा बिक्री भइरहेको विशेष सूचना प्राप्त भएपछि प्रहरी टोलीले घरमा खानतलासी गरेको थियो। खानतलासीका क्रममा घरको कोठामा लुकाएर राखिएको ९१५ किलो ६८० ग्राम र प्रदेश १–०२–००१ प ९१९९ नम्बरको मोटरसाइकल फेला परेको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा इनरुवा नगरपालिका–४ का ३६ वर्षीय बुलबुल यादव, २३ वर्षीय सन्तोष यादव, ३० वर्षीय आशिष यादव र दुहबी नगरपालिका–१० का २२ वर्षीय कुन्दन यादव रहेका छन्। प्रहरीले गाँजाजस्तो देखिने पदार्थ र मोटरसाइकलसहित चारै जनालाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


