इटहरी ।  केपी शर्मा ओली र रमेश लेखक पक्राउ परेसँगै उनीहरूको रिहाइको माग गर्दै गृह जिल्ला झापामा विरोध प्रदर्शन सुरु भएको छ।

नेकपा एमाले झापाको आयोजनामा बिर्तामोडस्थित जिल्ला पार्टी कार्यालयबाट निकालिएको विरोध र्‍याली नगर परिक्रमा गर्दै मुक्ति चोकमा पुगेर कोण सभामा परिणत भएको थियो। कोण सभामा बोल्ने अधिकांश वक्ताहरूले नयाँ सरकार गठन भएको छोटो समयमै प्रतिशोधपूर्ण कदम चालिएको आरोप लगाउँदै कडा विरोध जनाए।

उनीहरूले यस्तो अभ्यासले राजनीतिक प्रतिशोधको खतरनाक नजिर बस्न सक्ने चेतावनी दिँदै पार्टी अध्यक्ष ओली र पूर्व गृहमन्त्री लेखकलाई विना सर्त रिहा गर्न माग गरेका छन्। सभालाई सम्बोधन गर्दै जिल्ला अध्यक्ष प्रेम गिरीले बालेन्द्र शाह नेतृत्वको सरकारले पदभार ग्रहण गरेको २४ घण्टा नबित्दै बिदाको दिन पारेर गरिएको गिरफ्तारी असंवैधानिक र लोकतन्त्रविरोधी कदम भएको आरोप लगाए। त्यस्तै एमाले नेता तथा बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्र संग्रौलाले कार्की आयोगको त्रुटीपूर्ण प्रतिवेदनका आधारमा गरिएको पक्राउ निन्दनीय भएको बताएका छन्।