इटहरी। जनता बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु)को आयोजनामा इटहरीको जनता बहुमुखी क्याम्पस इटहरीमा (स्ववियु कप) हुने भएको छ ।
क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूबीच खेलकुद तथा अतिरिक्त क्रियाकलापलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रतियोगिता सञ्चालन गर्न लागिएको हो। प्रतियोगिता यही चैत ९ गतेदेखि सुरु हुने जनाइएको छ।
प्रतियोगितामा क्याम्पसमा अध्ययनरत +२, स्नातक तथा स्नातकोत्तर तहका विद्यार्थीहरू सहभागी हुन सक्नेछन्। प्रतियोगिताअन्तर्गत फुटबल, JMC रन, भलिबल, कब्बडी, डोरी तान, बुद्धिचाल (चेस) र ब्याडमिन्टन लगायतका खेलहरू समावेश गरिएका छन्।
सहभागिता जनाउन इच्छुक विद्यार्थीहरूले सम्बन्धित खेल संयोजकमार्फत नाम दर्ता गर्न सक्नेछन्। स्वतन्त्र विद्यार्थी युनियनका सभापति सहदेव काफ्लेले क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूको प्रतिभा प्रस्फुटन गराउने तथा खेलकुद गतिविधिलाई प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको जानकारी दिए। उनले प्रतियोगितालाई सफल बनाउन सम्पूर्ण विद्यार्थीहरूलाई सहभागिता जनाउन पनि आग्रह गरेका छन्।


