इटहरी । गणेशा केटी केटा फुलवारि मन्टेश्वरी स्कुलको पाँचौं वार्षिकोत्सव सम्पन्न भएको छ । इटहरी उपमहानगरपालिका वडा नम्बर १०, राजस्व टोलमा अवस्थित विद्यालयले विविध कार्यक्रमका साथ वार्षिकोत्सव मनाएको हो।
विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष सुशिला दंगालको अध्यक्षता तथा चलचित्र महासंघ कोशी प्रदेशका निर्देशक अरूण कुमार प्रधानको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रममा वार्षिक परीक्षामा उत्कृष्ट अंक हासिल गर्ने, शैक्षिक क्षेत्रमा उत्कृष्ट प्रदर्शन गर्ने तथा खेलकुद र अन्य विविध विधामा उत्कृष्टता देखाउने विद्यार्थीहरूलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो।
विद्यार्थीहरूले नेपाली परम्परागत नृत्य, नाटक, गायन तथा कविता वाचन लगायतका आकर्षक सांस्कृतिक प्रस्तुति दिएका थिए । साना बालबालिकाको प्रस्तुति देखेर अभिभावकहरू उत्साहित बनेका थिए । कार्यक्रममा अभिभावकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। विद्यालयकी अध्यक्ष सीता अधिकारीले शिक्षासँगै व्यवहारिक ज्ञानको शिक्षणलाई विशेष प्राथमिकता दिँदै आएको बताउनुभयो ।
प्रमुख अतिथि अरूण कुमार प्रधानले विद्यालयले अध्ययनसँगै अतिरिक्त क्रियाकलाप मार्फत विद्यार्थीहरूको प्रतिभा प्रस्फुटन गराउँदै आएको उल्लेख गर्दै आगामी दिनमा चलचित्र महासंघले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा चलचित्र कलाकार दिनेश कोइराला, शिक्षा किरण विद्यालयका सुबास घिमिरे, राजस्व टोल विकास संस्थाका अध्यक्ष चेगनारायण श्रेष्ठ लगायत स्थानीय विभिन्न विद्यालयका पदाधिकारी, शिक्षक, अभिभावक, विद्यार्थी तथा संघ–संस्थाका प्रतिनिधिहरूको बाक्लो उपस्थिति रहेको थियो।
अतिथिहरूलाइ स्कुलले सम्मान समेत गरेको थियो । विद्यालयले नर्सरीदेखि यूकेजी सम्म अध्यापन गराउँदै बालबालिकालाई गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको जनाएको छ ।


