इटहरी । पूर्वाञ्चल इन्जिनियरिङ् क्याम्पस धरानमा सिभिल इन्जिनियरिङ्मा अध्ययनरत विद्यार्थीहरुको टेक फेस्ट हुने भएको छ । 

यही माघ २३ गतेदेखि तीन दिनसम्म टेक फेस्ट चल्नेछ । टेक फेस्टमा विद्यार्थीहरुले अध्ययन गरेको सैद्दान्तिक ज्ञानलाई व्यवहारिक रुपमा प्रस्तुत गर्नेछन् । जसमा अटोकेड (ड्रइङ् तथा डिजाइन सफटवेयर), इट्याब्स (संरचनात्मक विश्लेषण तथा डिजाइन सफ्टवेयर), सर्वेक्षण, फाइला गनेर दुरी मापन गर्ने विधि, कागजको पुल निर्माण, आइसक्रिम स्टिक (पप्सिकल स्टिक) प्रयोग गरि पुल निर्माणलगायतका कार्यको अभ्यास कार्य गरेर प्रदर्शन गरिने आयोजक संस्थाले जनाएको  छ। 

तीनदिने कार्यक्रममा २०० भन्दा बढी सहभागी हुनेछन् । १० भन्दा बढी इभेन्ट् र अन्य छ वटा कलेजहरूका विद्यार्थीहरुको सहभागिता रहनेछ । कार्यक्रम सिभिल इन्जिनियरिङ् विद्यार्थी सोसाइटी (सिइएसएस) द्दारा हुन लागेको हो । कार्यक्रमले विद्यार्थीहरूबीच प्रतिस्पर्धा, सहकार्य र अनुभव आदान–प्रदानको अवसर प्रदान गर्ने अपेक्षा राखिएको छ ।