विराटनगर । चुडामणि स्मृति प्रतिष्ठानको आयोजनामा आगामी माघ १६ गते मोरङमा पाँचौँ जिल्ला स्तरीय वादविवाद प्रतियोगिता तथा ‘खेलाडी सम्मान’ कार्यक्रम आयोजना हुने भएको छ । कक्षा १२ सम्म अध्ययनरत विद्यार्थी सहभागी हुने प्रतियोगिताको विषय ‘कृत्रिम बुद्धिमत्ता (एआई) मानव नियन्त्रणमा रहन्छ कि मानवलाई नियन्त्रण गर्छ ?’ तय गरिएको छ ।
प्रतियोगितामा पक्ष र विपक्षतर्फ प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः ५१ हजार, ३१ हजार र २१ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । हालसम्म ३१ विद्यालयले नाम दर्ता गराइसकेका छन्, जसमा १० सरकारी र २१ संस्थागत विद्यालय रहेका छन् ।
कार्यक्रम बुढीगंगा–३ स्थित स्मृति इङ्लिस स्कुलमा आयोजना हुनेछ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की प्रमुख अतिथि रहने कार्यक्रममार्फत जिल्लाका उत्कृष्ट खेलाडीलाई पनि सम्मान गरिनेछ ।


