इटहरी । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू नेपाल कम्युनिस्ट पार्टी (एमाले) को सङ्गठित सदस्यको भूमिकामा रहेर काम गरिरहेको बताउनुभएको छ । विराटनगर विमानस्थलमा सोमबार सञ्चारकर्मीसँग कुरा गर्दै भण्डारीले नेकपा (एमाले)ले आफूलाई पार्टी सदस्य नरहेको भन्नेबारेमा कुनै जानकारी नगराएको र त्यस्तो कुनै औपचारिक निर्णय भएको जानकारी आफूलाई नभएको बताउनुभएको हो । केन्द्रीय समितिको बैठकले सदस्यता नवीकरण नगर्ने भनी गरेको निर्णयको बारेमा उहाँले अनभिज्ञता प्रकट गर्नुभयो । आफ्नो ४५ वर्ष लामो एमालेसँगको आबद्धता स्मरण गराउँदै भण्डारीले पार्टीको हितका लागि काम गर्ने बताउनुभयो । राजतन्त्र र गणतन्त्र फरक रहेको भन्दै उहाँले पद सकिएपछि पुरानो काममा फर्कन सकिने जिकिर गर्नुभयो ।
राष्ट्रपतिको पद आवधिक हुने र कार्यकाल सकिएपछि जुनसुकै नागरिक पनि आफ्नो सामाजिक वा राजनीतिक जीवनमा फर्कन सक्ने उहाँको भनाइ थियो । भण्डारीले गत असार १४ गते एमालेको सव्रिmय राजनीतिमा आउने घोषणा गर्नुभएको थियो । त्यसपछि बसेको नेकपा (एमाले) को केन्द्रीय समिति बैठकले उनको नवीकरण भइसकेको पार्टी सदस्यता नै खारेज गरेको थियो । राष्ट्रपति भइसकेका व्यक्ति सव्रिmय राजनीतिमा आउँदा आलोचना भइरहेको भन्ने विषयमा सोधिएको प्रश्नमा उहाँले आफू आलोचनाभन्दा मुक्त नरहेको बताउनुभयो । उहाँलाई गुट चलाउने प्रयत्न गरेको भनी गरिएको आशङ्काप्रति जवाफ दिँदै उहाँले आफूलाई गुट चलाउन नआउने र चलाउन पनि नचाहेको स्पष्ट पार्नुभयो ।

